काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत कर्जालाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले सहज रुपमा सहुलियत कर्जा प्रदान नगरेको गुनासो बढेसँगै राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।
राष्ट्र बैंकले अबका दिनकमा बार्षिक लक्ष्य निर्धारण गरी प्रत्येक शाखाबाट सहुलियत कर्जा प्रदान गर्नका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । राष्ट्र बैंकले सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार त्यसरी प्रवाह हुने कर्जालाई प्रभावकारी बनाउन क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।
सरकारले युवालाई स्वरोजगार बनाउने लक्ष्यसहित विभिन्न ७ शिर्षकमा सहुलियत कर्जा दिन बैंकहरुलाई निर्देशन दिएको थियो । तर हालसम्म पनि उक्त कर्जा प्रभावकारी रुपमा लागू हुन नसकेपछि राष्ट्र बैंकले बार्षिक लक्ष्य नै तय गरी कर्जा दिन निर्देशन दिएको हो ।