काठमाडौं । दक्षिण एशियाले पछिल्लो समय आफ्नो क्षेत्रमा निर्यात प्रवर्द्न गर्न नसक्दा आर्थिक बृद्धि खस्किने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा दक्षिण एशियाकै कूल ग्राहस्थ उत्पादनमा ह्रास आउने देखिएको हो ।
दक्षिण एशियाले सन २०२१ सम्म आफ्नो आर्थिक वृद्धि तिव्र गर्नका लागि निर्यातमा बढावा दिनुपर्ने बैंकले जानकारी दिएको छ । दक्षिण एशिया आफ्नो जीडीपीमा उल्लेख्य वृद्धि गर्नेमा पहिलो स्थानमा पर्ने भएपनि सोहीअनुसार केहि देशमा चालु खाता घाटा, घरेलु माग लगायतका समस्याले यसलाई पछ्याउन नसक्ने भएको हो ।
केहि देशको घरेलु मागका कारण आयात बढ्दा जीडीपीको वृद्धिमा असर पर्ने गरेको विश्व बैंकले देखाएको छ । दक्षिण एशियामा निर्यात प्रवर्द्धन पछिल्ला केहि बर्षमा घटेको छ । सन २००० मा निर्यातमा उत्कृष्ट रहेको दक्षिण एशिया पछिल्लो समय ब्यापारघाटा तिर लम्किरहेको छ । यस क्षेत्रमा हुने आयात बर्षेनी बढदै गईरहेको विश्व बैंकले औँल्याएको छ ।
सन २०१७ मा आयात १४ दशमलव ९ प्रतिशत रहेकोमा २०१८ मा भने बढ्दै १५ दशमलव ६ प्रतिशत पुगेको हो । विश्व बैंकले सन २०२१ सम्म नेपालको आर्थिक वृद्धिदर ६ दशमलव २ प्रतिशतमा झर्ने जानकारी दिएको छ । बिश्व बैंकका अनुसार यो बर्ष भने नेपालको आर्थिक बृद्धिदर ६ प्रतिशतमै सिमित हुने भएको छ ।