Logo

राष्ट्र बैंकले हस्तान्तरण गर्यो पूर्वाधार बैंकको लाईसेन्स, सिईओ ज्ञवालीले भने-अब तत्काल संचालनमा ल्याउँछौं

राष्ट्र बैंकले हस्तान्तरण गर्यो पूर्वाधार बैंकको लाईसेन्स, सिईओ ज्ञवालीले भने-अब तत्काल संचालनमा ल्याउँछौं



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल पूर्वाधार बैंकको लाइसेन्स हस्तान्तरण गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आज एक कार्यक्रमकाबीच बैंक संचालक समितिका अध्यक्ष अनुज अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीलाई बैंकको लाईसेन्स हस्तान्तरण गरेको हो ।

राष्ट्र बैंक संचालक समितिको गत हप्ता बसेको बैठकले पूर्वाधार बैंक संचालनका लागि लाईसेन्स दिने निर्णय गरेको थियो । राष्ट्र बैंकबाट लाईसेन्स पाएसँगै सकभर चाडो संचालनमा ल्याईने बैंकका सिईओ ज्ञवालीले जानकारी दिए । ‘हामीलाई राष्ट्र बैंकले ६ महिना भित्र बैंक संचालनमा ल्याइसक्नुपर्ने गरी लाईसेन्स प्रदान गरेको छ,’ उनले भने, ‘हामीसँग बैंक संचालनका लागि आवश्यक धेरै तयारी गरिसकेकाले अबको १ महिनाभित्र संचालनमा ल्याउनेछौं ।’

राष्ट्र बैंकबाट लाईसेन्स पाएसँगै अब बैंक खाता खोल्ने तथा बैंक संचालनका लागि कम्पनी रजिष्टार कार्यालयबाट एप्रुवल लिनेजस्ता काम बाँकी रहेकाले अहिले नै संचालन मिति तोक्न नसकिने समेत उनले जानकारी दिए ।

४० अर्ब रुपैयाँ अधिकृत पूँजी रहेको बैंकको जारी पूँजी २० अर्ब छ । हाल चुक्ता पूँजी १२ अर्ब रहेको सो बैंकको थप ८ अर्ब चुक्ता पूँजी सार्वजनिक सेयर निष्काशन गरेर उठाउने छ ।
बैंकले सार्वजनीक तथा निजी साझेदारी मार्फत नेपालको पूर्वाधार (यातायात, कृषि, उर्जा, पर्यटन, सेज, आधुनीक शहरी पूर्वाधार, सूचना प्रविधी लगायत) विकास निर्माणका काममा लगानी गर्ने छ ।

नेपाल सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको यस बैंकको मुख्य कार्यक्षेत्र अन्र्तगत राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका पूर्वाधार विकासका परियोजनाहरुमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरीक र वाह्य स्रोत जुटाउने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL