काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मंगलबार तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।
स्टकका अनुसार आज शेयर मूल्य समायोजन भएका कम्पनीमा एनएमबी बैंक, स्वावलम्बन विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्स रहेका छन् । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट शेयरधनीलाई दिने शेयर लाभांश र नगद लाभांशपछि ती कम्पनीले शेयर मूल्य समायोजन गरेका हुन् ।
स्टकका अनुसार एनएमबी बैंकले १० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेअनुसार नै प्रतिकित्ता ३ सय ५१ रुपैयाँमा शेयरमूल्य समायोजन गरेको हो । बैंकको औसत आधारमूल्य ३ सय ७२ रहेको छ । यस्तै स्वावलम्बन विकास बैंकको २५ प्रतिशत शेयर लाभांशपश्चात् प्रतिकित्ता ८ सय ८६ मा शेयर मूल्य समायोजन भएको छ । स्टकले सो बैंकको औसत आधार मूल्य १ हजार ८० कायम गरेको छ । मिर्मिरे लघुवित्तले पनि २४ प्रतिशत शेयर लाभांश दिने निर्णयसँगै आज शेयर मूल्य समायोजन गरेको छ । सो संस्थाको प्रतिकित्ता ९ सय ६९ रुपैयाँमा रहने गरी शेयर मूल्य समायोजन गरेको हो । सो लघुवित्तको औसत आधार मूल्य १ हजार ४ सय ४४ रहेको छ ।
नेपाल हाइड्रोडेभलपर लिमिटेडले आफ्ना शेयरधनीलाई ४ प्रतिशत शेयर लाभांश दिने भएको छ । कम्पनीले शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि सामान्य नगद लाभांशको प्रस्ताव गरेको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०७४÷७५ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । सो लाभांश कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । सो आवमा कम्पनीले १ करोड ९७ लाख ७७ हजार नाफा गरेको थियो ।