काठमाडौं । बजारमा क्रेडिट क्रञ्चको अवस्था सुरु भएकोसँगै तरलता (लगानी योग्य रकम) बढाउनका लागि स्थानीय तहमा गएको पैसालाई बचतमा परिणत गरिने भएको छ । स्थानीय तहमा ठूलो परिमाणमा पैसा थुर्पेर बस्ने हुनाले तत्कालका लागि त्यसलाई बचतमा परिणत गर्न गृहकार्य भइरहेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले जानकारी दिए ।
‘सरकारले स्थानीय तहमा विभिन्न शिर्षकमा ठूलो रकम पठाएको हुन्छ तर त्यसरी पठाईएको पैसा सञ्चिती कोषमा थन्किएर बसेको हुन्छ,’ उनले भने, ‘त्यसलाई परिचालन गर्नकै लागि स्थानीय निकायमा गएको रकमलाई बचतमा परिणत गर्न लागेका हौं ।’ सरकारले स्थानीय तहमा हरेक ३ महिनाको १ गते बजेट पठाउँदै आएको छ ।
अहिले सरकारले पठाएको पैसा स्थानीय तहको खाता रहेको बाणिज्य बैंकको सञ्चिती कोषमा थुप्रेर बस्दै आएको छ । स्थानीय तहले खर्च गर्नका लागि चेक काटेको अवस्थमा मात्र उक्त रकम खर्च हुने गरेको छ भने कतिपय रकम आर्थिक बर्षका अन्तमा फ्रिज समेत हुँदै आएको छ । त्यसरी थुप्रिएर बसेको रकमलाई लगानी योग्य बनाउन बचतमा परिणत गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिए ।
स्थानीय तहमा गएको रकमलाई बचतमा लैजाने सम्बन्धमा अध्ययन गर्न एक कमिटि समेत गठन गरिएको थियो । तर, अहिलेकै अवस्थामा त्यसरी स्थानीय तहमा पठाइएको रकमलाई बचतमा परिणत गर्न नमिल्ने महालेखा नियन्त्रणको कार्यालयल लगायतको धारणा आएपछि कसरी ल्याउने भन्ने विषयमा थप गृहकार्य भइरहेको समेत उनले जानकारी दिए । ‘स्थानीय तहमा गएको रकमलाई बचतमा ल्याउने विषयमा हामीले धेरै पटक छलफल गर्यो,’ शिवाकोटीले भने, ‘यसमा अर्थमन्त्रालय पनि सकारात्मक भएको छ संविधान त कानुनी जटिलताका कारण रोकियो ।’ उक्त रकमलाई बचतमा ल्याउने सम्बन्धमा कानुनी जतिलता हटाउने सम्बन्धमा थप गृहकार्य भईरहेको समेत उनले जानकारी दिए ।
दशैं अघि बैंक वित्तीय संस्थाले उच्च रुपमा लगानी गरेका कारण अहिले बजारमा क्रेडिट क्रञ्चको अवस्था देखिएको छ भने सरकारी ढुकुटीमा पनि अर्बौं रुपैयाँ थन्किएर बसेको छ । चालू आर्थिक बर्षको पहिलो ३ महिनामा ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा १२४ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । जसले गर्दा कतिपय बैंकहरुको लगानी गर्ने क्षमता अर्थात सीसीडी अनुपात उच्च विन्दुमा पुगेको छ । बजारमा कर्जाको उच्च माग र कम निक्षेप संकलन हुँदा बजारमा दशैं लगत्तै क्रेडिट क्रञ्चको अवस्था देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।