Logo

कर्जा विस्तारमा बैंकहरु एग्रेसिभ, तीन महिनामा ५४ अर्ब निक्षेप संकलन गर्दा १२४ अर्ब लगानी

कर्जा विस्तारमा बैंकहरु एग्रेसिभ, तीन महिनामा ५४ अर्ब निक्षेप संकलन गर्दा १२४ अर्ब लगानी



काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारमा कडाई गरिरहँदा बैंक वित्तीय संस्थाहरु भने ठिक त्यसको विपरित एग्रेसिभ भएका छन् । चालू आर्थिक बर्षको पछिल्लो ३ महिनामा बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा विस्तार दोब्बरभन्दा बढीले गरेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

बैंक वित्तीय संस्थाले चालू आर्थिक बर्षको पहिलो ३ महिना अर्थात असोजको अन्तिम सातासम्ममा १२४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकका एक उच्च अधिकारीले जानकारी दिए । तर सो अबधिमा बैंक वित्तीय संस्थाहरुले जम्मा ५४ अर्ब रुपैयाँमात्र निक्षेप संकलन गरेका छन् ।

राष्ट्र बैंकले चालू आबमा कर्जा विस्तार २० प्रतिशतमा सिमिति राख्ने लक्ष्य लिएपनि अहिलेकै तुलनामा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने हो भने यो दर अझै उच्च हुने उक्त स्रोतको दावी थियो । चालू आबको पहिलो ३ महिनामा उच्च रुपमा कर्जा विस्तार गरेसँगै बैंकहरुको सीसीडी अनुपात समेत ७९ प्रतिशत नजिक पुगेको सम्बद्ध स्रोतको भनाई छ ।

यसैगरी नेपाल राष्ट्र बैंकका प्रवक्ता नाराण पौडेल पनि पछिल्लो समय बैंकहरुको निक्षेप संकलन र कर्जा विस्तारमा धेरै नै मिसम्याच भएको बताउँछन् । ‘अहिले बैंकहरुले निक्षेप संकलनको तुलनामा एकदमै धेरै कर्जा विस्तार गरेको पाईएको छ,’ उनले भने, ‘अहिले राष्ट्र बैंकले एक महिनाको मात्र तथ्याङ्क सार्वजनिक गरेको छ थप अरु तथ्याङ्क भने संकलनकै क्रममा छन् ।’ राष्ट्र बैंकले प्राप्त गरेको जानकारी अनुसार पछिल्लो समय बैंकहरु निक्षेप संकलन भन्दा कर्जा विस्तारमा एकदमै एग्रेसिभ भएको समेत उनको भनाई थियो ।

चालू आबको पहिलो ३ महिनाको कर्जा विस्तार अनुसार दशैं तिहार लगत्तै बैंक वित्तीय संस्थामा तरलता संकट आईपर्ने समेत सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘अहिले सरकारी ढुकुटीको ठूलो रकम थन्किएर बसेको छ भने बैंक तथा वित्तीय संस्थाले पनि आफुसँग भएको पैसा दशैं लक्षित लगानी गरिसकेका छन्,’ उक्त स्रोतले भन्यो, ‘आगामी दिनमा सरकारी ढुकुटीमा भएको पैसा खर्च नहुने र बैंकहरु निक्षेप संकलनमा केन्द्रित नहुने हो भने तत्कालै ‘लेण्डिङ क्रञ्च’ को अवस्था आउनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL