Logo

मेगा र टुरिजमबीच एकिकृत कारोबार सुरु, रणनीतिक साझेदार भित्र्याउँदै मेगा बैंक

मेगा र टुरिजमबीच एकिकृत कारोबार सुरु, रणनीतिक साझेदार भित्र्याउँदै मेगा बैंक



काठमाडौं । मेगा बैंक नेपालले आफ्नो दायरा फराकिलो पार्दे आफुलाई विदेशी बजारमा समेत विस्तार गर्न विदेशी रणनीतिक साझेदार भित्र्याउने भएको छ । हाल विदेशी रणनीति साझेरदा भित्र्याउने सम्बन्धमा छलफल भइरहेको र यसले सार्थकता पाउने बैंक संचालक समितिका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । ‘हामीले विदेशी रणनीतिक साझेदाको समेत पहिचान गरी बैंकको कार्यक्षेत्र फराकिलो बनाएर अघि बढाइनेछ,’ मेगा र टुरिजम डेभलपमेन्ट बैंकको मर्जर पछिको एकिकृत कारोबार कार्यक्रममा बोल्दै शाहले भने ।

यसैगरी उनले मर्जर पश्चात मेगा बैंक पूँजीको हिसाबले ठूलो र सक्षम भएको जानकारी दिँदै अबका दिनमा ठूला पूर्वाधार निर्माणको काममा लिडिङ बैंकको रुपमा काम गर्न सक्ने बताए । मर्जरसँगै बैंकको चुक्ता पूँजी ९ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । तर, आर्थिक बर्ष २०७३÷७४ मा वितरित बोनस सेयर समायोजनसँगै बैंकको चुक्ता पूँजी साढे १० अर्ब रुपैयाँभन्दा बढि हुने उनले जानकारी दिए । चुक्ता पूँजीको आधारमा मेगा अब तेस्रो ठूलो बैंक बन्न सफल भएको छ । आगामी आर्थिक बर्षमा ३ अर्ब रुपैयाँ खुदा नाफा आर्जन गर्ने लक्ष्य सहित बैंक अघि बढेको बताउँदै सोका लागि सोही अनुरुप निक्षेप र कर्जा परिचालन गर्ने उनको दावी थियो ।

साथै बैंकले संघीय संरचना अनुरुप सात वटै प्रदेशमा प्रदेश स्तरी केन्द्रिय कार्यालय खोल्ने तयारी गरिरहेको समेत उनको भनाइ थियो । दुई बैंकबीचको मर्जर पश्चात बैंकको नयाँ संचालक समिति समेत चयन भएको छ । बैंक संचालक समितिको अध्यक्षमा शाह छन् भने अन्य सदस्यहरुमा गोपाल खनाल, मदन आचार्य, मुक्तिनाथ पाण्डे र पूर्ण खत्री चयन भएका छन् ।

यसैगरी, मर्जरपछि बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपैँया पुगेको छ भने कर्जा प्रबाह ५५ अर्ब ७० करोड रुपैँया पुगेको छ । अब मेगा बैंक वाणिज्य बैंकहरु मध्ये निक्षेपमा २४औं र कर्जामा २२औं स्थानमा रहेको छ । यसअघि बैंकको स्थान क्रमशः २६ औं र २७ औं रहेको थियो ।

मेगा बैंकको देशभर ९१ वटा शाखा, ७४ वटा एटीएम सञ्जाल र १ हजार ८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् । मेगाका ५८ वटा शाखारहित केन्द्रहरु सञ्चालनमा रहेका छन् भने थप ६१ वटा केन्द्रहरु स्थापना गर्ने प्रक्रियामा रहेको छ । यसैगरी, मर्जरपछि एक्सटेन्सन काउन्टरको संख्या ८ पुगेको छ भने थप १२ वटा एक्सटेन्सन काउन्टर खोल्ने प्रक्रिया अघि बढाइएको छ ।

मर्जरसँगै मेगामा अब बैंकमा प्रत्यक्ष संलग्न कर्मचारीको संख्या ८ सय ८६ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिईन । साथै वित्तीय आवश्यकतालाई परिपूर्ति गर्न बैंकका हरेक कर्मचारी सदैव तत्पर रहने समेत उनको दावी थियो । यसैगरी ग्राहकवर्गहरुको वित्तीय आवश्यकता पूरा गर्नु नै आफ्नो मुल उद्देश्य हुने उनको उद्घोष थियो ।

यस्तै सहायक डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रविना देसराज श्रेष्ठ र सिनियर डिजीएममा टुरिजम डेभलपमेन्ट बैंकका तत्कालिन सिईओ महेश शर्मा ढकाललाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्