काठमाडौं । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा तुलसीराम गौतम नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले बुधवार गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत गौतमलाई बैंकको सञ्चालक समिति तथा का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले स्वागत गरेको थियो
गौतमले नेपाल बैंकबाट बैंकिङ यात्रा सुरु गरेका हुन् । आफ्नो ३४ वर्षे बैंकिङ यात्रामा उनले नेपाल बैंकमा १३ बर्ष, नेपाल इण्डोस्वयज बैंकमा ७ वर्ष, नेपाल एस्.बी.आई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा रही ४ वर्षको कार्यकाल पूरा गरेको थियो ।
उनले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ र वित्त विषयमा स्नातकोत्तर गरेका छन् । सेञ्चुरीको काठमाडौं उपत्यकामा ११ शाखा र ५ एक्स्टेन्सन काउन्टर रहेका छन् ।
त्यस्तै, उपत्यका बाहिर ८२ शाखा ३ एक्स्टेन्सन काउन्टर छन् । बैंकले १० वटा शाखारहित बैंकिङ समेत गरी १ सय ११ स्थानबाट सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।