Logo

राष्ट्र बैंकलाई अर्थमन्त्रीको निर्देशन, ‘बैंकहरुमा कुनै पनि वेला समस्या आउन सक्छ खुकुलो नहुनुस’

राष्ट्र बैंकलाई अर्थमन्त्रीको निर्देशन, ‘बैंकहरुमा कुनै पनि वेला समस्या आउन सक्छ खुकुलो नहुनुस’



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंकलाई बैंक तथा वित्तीय संस्थाप्रति खुकुलो नहुन निर्देशन दिएका छन् । र।ष्ट्र बैंकले पछिल्लो समय नेपालको बैंक तथा वित्तीय संस्थामा सुधार आईरहेको बताइरहेको अवस्थामा अर्थमन्त्री डा. खतिवडाले भने कुनै पनि समयमा समस्या आउने सक्नेभन्दै खुकुलो नीति नलिन निर्देशन दिएका हुन् ।

‘अहिले बैंक तथा वित्तीय संस्थामा सुधार आयो भन्दैमा राष्ट्र बैंक चुप लागेर बस्नु मिल्ने अवस्था छैन,’ राष्ट्रिय बाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकको एकिकृत कारोबार कार्यक्रममा बोल्दै उनले भने, ‘त्यसका लागि राष्ट्र सदैव चनाखो भएर सोही अनुरुप नीति लिन जरुरी छ ।’

बैंक तथा वित्तीय संस्थामा चक्रिय समस्या आईरहने जानकारी दिँदै त्यस्ता समस्या रोक्न चनाखो भएर दरिलो नीति लिनुपर्ने उनको तर्क थियो । ‘बैंक वित्तीय संस्थामा अहिले केही सुधार आएपनि यस्ता संस्थाहरुमा चक्रिय समस्या आईरहन्छ,’ उनले भने, ‘तसर्थ अबका दिनमा पनि राष्ट्र बैंकले खुकुलो नभई दरिलो नीति लिन आवश्यक छ ।’

कार्यक्रममा अर्थमन्त्री खतिवडाले राष्ट्र बैंक भित्रपनि खराब काम गर्ने तथा बदनाम संस्थालाई कारबाही गर्नुको सट्टा फाइल लुकाउने तथा बचाउन तर्फ कर्मचारीहरु केन्द्रित हुने गरेको भन्दै आगामी दिनमा त्यस्ता घटना दोहोरिन नहुने बताए । ‘फाइल लुकाउने, काम नगर्ने तथा कारबाहीको फाइल लुकाउने बानी हटाऔं,’ उनले भने, ‘आगामी दिनमा त्यस्ता घटना दोहोरियो भने सरकारले कसैलाई पनि छाड्नेछैन ।’

प्रतिक्रिया दिनुहोस्