काठमाडौं । नेपाल राष्ट्र बैंकले भाइबर बैंकिङलाई नियमन गर्ने भएको छ । बैंक वित्तीय संस्थाले नियामक निकायसँग स्वीकृति नै नलिई जथाभावी रुपमा भाइबर बैंकिङ संचालन गर्न थालेपछि राष्ट्र बैंकले नियमन गर्न लागेको हो ।
नेपालमा भाइबर बैंकिङ भर्खरै मात्र संचालनमा आएको र त्यसलाई कसरी नियमन गर्ने भन्ने विषयमा छलफल भइरहेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए । ‘बैंकहरु भाइबर बैंकिङ चलाएका छन भन्ने अनौपचारिक रुपमा जानकारीमा आएको छ तर कसरी चलाएका हुन् भन्ने विषयमा आधिकारीक जानकारीमा आएको छैन,’ उनले भने, ‘यसको विषयमा थप अध्ययन गर्दैछौं ।’
उनका अनुसार हालसम्म कुनै पनि बैंकले राष्ट्र बैंकबाट स्वीकृति लिएर भाइबर बैंकिङ संचालन गरेका छैनन् । बैंकहरुले स्वीकृति नै नलिई कसरी संचालन गर्दै आएको छन् त्यस विषयमा पनि जानकारी लिन लागिएको शिवाकोटीको भनाई थियो ।
सुरक्षाको दृष्टिकोणले कुनै पनि सेवाग्राहीको तथ्याङ्क कति सुरक्षित हुन्छ, व्यक्तिगत खाताको तथ्याङ्कहरु बाहिर जान्छ कि जाँदैन भन्ने विषयमा पनि अनुसन्धान गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसैगरी भाइबर बैंकिङलाई नियमन गर्न केही समयअघि राष्ट्र बैंक र नेपाल दूरसंचार प्राधिकरणबीच एक चरणको छलफल भएको थियो । तर, कसरी अघि बढ्ने भन्ने विषयमा टुङ्गो नलागेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । ‘भाइबर बैंकिङलाई कसले कसरी नियमन गर्ने भन्ने विषयमा राष्ट्र बैंकसँग छलफल भएको थियो,’ उनले भने, ‘बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकले लाइसेन्स दिने भएकाले नियमन गर्ने जिम्मा पनि उसैको हुनेछ ।’ भाइबर बैंकिङ संचालनका लागि सेक्युरिटी तथा सर्भरको विषयमा विस्तृत अध्ययन गर्नुपर्ने उनको तर्क थियो ।
बैंकहरुले आफ्नो नयाँ प्रडक्टको रुपमा भइबर बैंकिङ संचालनमा ल्याएको ग्लोवल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौडेलले जानकारी दिए । ‘बैंकहरुले आफ्ना ग्राहकहरुको चाहना अनुरुप समयसापेक्ष नयाँ प्रोड्क्ट ल्याउँछन् सोही अनुरुप भाइबर बैंकिङ संचालनमा आएको हो,’ उनले भने, ‘नयाँ प्रडक्ट ल्याउनका लागि नियमक निकायसँग स्वीकृति लिइरहनु पर्दैन ।’
भाइबर बैंकिङ भनेको मोबाइल मनीको अर्को रुप भएको बताउँदै यसमा कुनै जोमिख नभएको उनको तर्क थियो । साथै यसलाई ग्राहकले भाइबर एपबाट सहजै चलाउन सक्ने समेत उनले जानकारी दिए ।
नेपालमा भाइबर बैंकिङको सफ्टवेयर उपलब्ध गराउँदै आएको एफवान सफ्ट इटरनेशनलका प्रेसिडेण्ट विश्वास ढकालले भने भाइबर बैंकिङबाट कुनै पनि सेवाग्राहीको तथ्याङ् बाहिर नजाने दावी गर्छन । ‘विश्वव्यापी रुपमै भाइबरले कसैको पनि टाडा स्टोर गर्दैन,’ उनले भने, ‘हामीले पनि त्यसका लागि छुट्टै सफ्टवेयर बनाएका छौं त्यो डाटा एफवान सफ्ट र सम्बन्धित बैंकसँग मात्रै रहनेछ ।’ नेपालमा उपलब्ध अन्य एपको तुलनामा भाईबर बैंकिङ बढी सुरक्षित रहेको समेत उनले जानकारी दिए ।
भाईबर बैंकिङ्ग सेवा मार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पुटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्ने छन् । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर बैंकको मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्छ ।
मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको मोबाईलका प्रयोगकर्ता ग्राहकहरुले भाईबर बैंकिङ्ग मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, क्रेडिट कार्ड, कर्जा सुबिधा, मुद्धती खाता लगायत बैंकका अन्य सेवाको बारेमा जानकारी लिन सक्नेछन् । यो सेवा बैंकमा खाता नभएका व्यक्तिले समेत उपयोग गर्न सक्छन् । खाता नभएका व्यक्तिले यो सेवा मार्फत बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् ।