काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘युनिफर्म चार्ट अफ एकाउण्ट्स’ लागू गर्न बैंक वित्तीय सस्थासँग राय सुझाव माग गरेको छ । बैंक वित्तीय संस्थाले राख्ने हिसाव तथा राष्ट्र बैंकमा पेश गर्ने पद्दतीलाई सरल सहज र एउटै प्रणालीमा ल्याउनका लागि उक्त व्यवस्था कार्यान्वयमा ल्याउन लागि राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।
सो व्यवस्था लागू गर्न डिफिड तथा विश्व बैंकलगायत परामर्शदाताबाट पेश भएको सुझाव अनुरुप मस्यौदा तयार पारेर बैंक वित्तीय संस्थासँग सुझाव मागिएको उनले जानकारी दिए । ‘राष्ट्र बैंकले मस्यौदा तयार गरे यही माघ महिनाको समयाबधि दिएर क, ख र ग बर्गका बैंक वित्तीय संस्थासँग सुझाव मागेका छौं,’ उनले भने, ‘उनीहरुको सुझाव आएमा केही परिमार्जन गर्छौं, अन्यथा यसैलाई कार्यान्वयमा ल्याउने छौं ।’
राष्ट्र बैंकले सो व्यवस्थालाई चालू आर्थिक बर्षको दोस्रो त्रैमासबाटै लागू गर्ने जानकारी दिएको छ । सो व्यवस्था लागू भएसँगै सबै बैंक वित्तीय संस्थाको एकाउण्ट राख्ने तरिका, ब्यालेन्स सिट तथा अन्य हिसाव मिलानमा प्रक्रिया समान हुनेछ ।