Logo

विपन्न वर्गमा ४ अर्ब लगानी गर्दै मेगा बैंक, कुल कर्जाको १० प्रतिशत पुर्याउँदै

विपन्न वर्गमा ४ अर्ब लगानी गर्दै मेगा बैंक, कुल कर्जाको १० प्रतिशत पुर्याउँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेगा बैंक नेपालले विपन्न वर्ग कर्जामा ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले सो क्षेत्रमा दिँदै आएको कर्जालाई बढाएर चालु आर्थिक बर्षको अन्त्यसम्ममा ४ अर्ब रुपैंया पुर्याइने बैंकका कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताइन् ।

गुञ्जेलीले मेगा बैंकको लघुवित्त इकाइले देशभरका ५० वटा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएकी हुन । ‘अहिलेसम्म हामीले विपन्न वर्गका लागि २ अर्ब ४६ करोड रुपैँया लगानी गरिसकेका छौं । बाँकी रकम पनि यसै आर्थिक वर्षको अन्त्यसम्ममा लगानी भैसक्नेमा हामी ढुक्क छौं,’ उनले भनिन् ।

बैंकले हलोदेखि हाइड्रो सम्म लगानी गर्ने उद्देश्य अनुरुप विपन्न वर्गका लागि गरेको कर्जाको असुलीमा जोखिम समेत न्यून भएकाले सो क्षेत्रलाई प्राथमिकता दिएको उनको भनाइ थियो ।

कार्यक्रममा लघुवित्त विज्ञ डा. नरहरि ढकालले लघुवित्त संस्थाले संचालन खर्च कम गर्न सूचना प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले विगत २५ वर्षदेखि बाणिज्य बैंकले लघुवित्त संस्थालाई गरेको थोक कर्जा शत प्रतिशत असुली भएको जानकारी दिए । थोक कर्जामा कुनै जोखिम नभएको भन्दै उनले ढुक्क भएर लघुवित्त संस्थाहरुमार्फत विपन्न वर्गमा कर्जा लगानी गर्न वाणिज्य बैंकहरुलाई आग्रह गरे ।

मेगा बैंकका लघुवित्त इकाईका प्रमुख प्रकाश पोखरेलका अनुसार, लघुवित्तलाई प्राथमिकता दिने उद्देश्यले मेगा बैंकले लघुवित्त इकाइ नै स्थापना गरेको छ । मेगा बैंकका देशभर छरिएका ४७ वटा शाखामा लघुवित्त इकाइ अन्तरगत ७५ जना कर्मचारीहरु कार्यरत छन् । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई अनिवार्य रुपमा ५ प्रतिशत रकम विपन्न वर्गमा लगानी गर्न निर्देशन दिएको छ । तर, मेगा बैंकले अहिले नै करिब ७ प्रतिशत लगानी गरिसकेको छ भने चालु आर्थिक बर्षको अन्त्यसम्म करिब १० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL