Logo

उद्योगमा लोडसेडिङ, यातायातको सिण्डीकेट र पूर्वाधार निर्माणमा गुणस्तरहिन कच्चापदार्थ मुख्य समस्या

उद्योगमा लोडसेडिङ, यातायातको सिण्डीकेट र पूर्वाधार निर्माणमा गुणस्तरहिन कच्चापदार्थ मुख्य समस्या


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको आर्थिक पक्षहरु विविध अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आर्थिक बर्ष २०७३/७४ आर्थिक पक्षहरु समेटिएको प्रतिवेदन सार्वजनिक गर्दै देशको आर्थिक सवस्था सन्तोषजनक नरहेको उल्लेख गरेको छ ।

राष्ट्र बैंकले देशको विभिन्न ५७ वटा जिल्लामा अध्ययन अनुसन्धान गरी उक्त प्रतिवेदन सार्वजनि गरेको हो । जस राष्ट्र बैंकले विशेषगरी कृषि, उद्योग, सेवा र पूर्वाधार गरी विभिन्न ४ वटा क्षेत्रलाई समेटेर उक्त अध्ययन गरेको थियो । तर, सो अध्ययनले ४ वटै क्षेत्रमा चुनौतीहरु देखिएको उल्लेख गरेको छ ।

प्रतिवेदन अनुसार नेपालको गुणस्तरिय पूर्वाधार निर्माण हुन नसक्नुमा ठेकेदारले प्रयोग गर्ने कमशल खालका कच्चा पदार्थ मूख्य कारण रहेको छ । राष्ट्र बैंकले अध्ययन गरेका क्षेत्रमा पूर्वाधार निर्माणका क्षेत्रमा प्रयोग गरिएका कच्चा पदार्थहरु कमशल र गुणस्तरहिन गरेको उल्लेख छ । यसैगरी पूर्वाधार विकास हुन नसक्नुमा अर्को पाटोमा सो क्षेमा पर्याप्त बजेटको अभाव तथा राजनैतिक, भौगोलिक, नीतिगत एवम् प्राविधिक कमजोरीहरु रहेका छन् । साथै विनियोजित बजेट समेत समयमा खर्च हुन नसकी राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणमा अपेक्षित प्रगति हुन नसकेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

कृषि

कृषि क्षेत्र अव्यवस्थित प्लटिङ्गले कृषि योग्य जमिन क्षय हुँदै गइरहेको र श्रमिकको अभावमा बाँझो रहने क्रम बढ्दो छ । खेती योग्य जमीन घडेरीमा परिणत गरिने कार्य रोक्नु र यस्ता जमीनमा पूर्णतः खेती गरिनु यस क्षेत्रको पहिलो चुनौती रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
कृषिको व्यवसायीकरणका लागि राज्यको तर्फबाट समयमै उन्नत बीउ–बीजन, रासायनिक मल, किटनाशक औषधि तथा आधुनिक यन्त्र–उपकरणहरुको उपलब्धता सुनिश्चित गरी यस क्षेत्रलाई व्यवसायीकरणको मार्गमा अगाडी बढाउनुपर्ने राष्ट्र बैंकको सुझाव छ । तर वास्तविक योजना र समयोचित कार्यान्वयन विना कृषिका आधारभूत आगत तथा यन्त्र–औजार पर्याप्त मात्रामा यथासमय उपलब्ध गराउने कार्य चुनौतीपूर्ण रहेको छ ।

कृषि उत्पादनलाई अन्तिम उपभोक्तासम्म पुर्याउने संयन्त्रमा विचौलियाहरुको अति र अनावश्यक उपस्थितिले किसानहरुले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको राष्ट्र बैंकले जानकारी दिएको छ । उपभोक्ताहरुले बढी मूल्य तिर्नुपर्ने अवस्था अझै विद्यमान रहेको र कमजोर अनुगमनका कारण जरैदेखि फष्टाएका बिचौलियाहरुको अनावश्यक उपस्थितिलाई उन्मूलन गर्नु चुनौतीपूर्ण रहेको छ ।

उद्योग

देशमा बन्द, हडताल जस्ता समस्यामा उल्लेख्य कमी आएतापनि उद्योग दर्ता तथा संचालन क्षमता उपयोगमा सुधार आएको छैन । आर्थिक स्थिरता कायम गर्दै स्वदेशी तथा विदेशी लगानी भित्राउनु अझै चुनौतीपूर्ण रहेको छ । बिद्युत आपूर्तिमा क्रमिक सुधार आइरहेको भएतापनि उद्योग क्षेत्रमा केहि घण्टाको लोडसेडिङ्ग कायमै रहेकोले औद्योगिक क्षेत्रमा चौबिसै घण्टा बिजुली आपुर्ति हुने व्यवस्था मिलाउने र भारतबाट आयातित विद्युतमा निर्भरता कम गर्दै लैजानु चुनौतीपूर्ण रहेको प्रतिवेदनले देखाएको छ ।

उद्योगी÷व्यवसायीहरुमा लगानीका लागि मनोबल बढाउन र औद्योगिक उत्पादनलाई लागत प्रभावी बनाउन विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक प्रवर्धन क्षेत्र, सडक सञ्जाल, प्रविधि जस्ता औद्योगिक पूर्वाधारको विकास गर्नु चुनौतीपूर्ण छ । औद्योगिक उत्पादनको लागि बजारको अभावले उद्योग क्षमता पूर्ण रुपमा उपयोग गर्न सकिएको छैन भने विश्वव्यापीकरण र आर्थिक उदारीकरणले निम्त्याएको प्रतिस्पर्धासँग सामना गर्न नसकेर नेपाली उत्पादनको स्वदेशी तथा अन्तराष्ट्रिय बजार खस्कँदो स्थितिमा छ ।

स्वदेशी उत्पादनलाई लागत प्रभावी र गुणस्तरीय बनाई अन्तराष्ट्रिय बस्तुसँग प्रतिस्पर्धाको क्षमता विकास गर्नु यस क्षेत्रको लागि प्रमुख चुनौती रहेको राष्ट्र बैंकले औल्याएको छ । तुलनात्मक लाभका वस्तुहरु भनी पहिचान गरिएका वस्तुहरुको समेत लागत प्रभावी रुपमा उत्पादन गर्न नसकिएकाले अन्तराष्ट्रिय बजारमा यस्ता वस्तुहरुको निर्यात प्रवद्र्धन गरी अपेक्षित लाभ हासिल गर्ने कार्य अझै चुनौती रहेको राष्ट्र बैकको प्रतिवेदनमा उल्लेख छ ।

सेवा

यातायात क्षेत्रमा रहेको सिण्डीकेट सेवा क्षेत्रको मुख्य चुनौतीको रुपमा रहेको छ । सेवा क्षेत्रलाई सहज रुपमा संचालनका लागि अवैधानिक रुपमा चलन चल्तीमा रहेको यातायात क्षेत्रको सिण्डिकेट प्रणाली व्यावहारिक रुपमै अन्त्य गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । यसैगरी पूर्ण रुपमा आयातित पेट्रोलियम पदार्थमा निर्भर रहेको सडक यातायातलाई उर्जाका अन्य विकल्प विशेष गरी विद्युतीय सवारी साधनबाट प्रतिस्थापन गर्नुपर्ने राष्ट्र बैंकको सुझाव छ ।

पर्यटन क्षेत्रतर्फ हवाई सेवालाई सुविधासम्पन्न बनाउन स्वदेशी वायुसेवा कम्पनीहरुमा नयाँ विमान थप्ने तथा प्रत्यक्ष गन्तव्य थप्नु पर्ने छ । यसैगरी एक मात्र अन्तराष्ट्रिय विमानस्थललाई विस्तार गर्ने र विमानस्थलका सेवा व्यवस्थित बनाउने तथा क्षेत्रीय विमानस्थलको निर्माण कार्य तदारुकताका साथ समयमै सम्पन्न गर्ने प्रमुख आवश्यकता हो । नयाँ पर्यटन क्षेत्रहरुको पहिचान गर्ने र उक्त क्षेत्रमा पर्यटकको लागि आधारभूत सुविधाको व्यवस्था गर्ने, भूकम्पबाट क्षतीग्रस्त ऐतिहासिक पर्यटकीय सम्पदाहरुको यथाशीघ्र पुनर्निर्माण तथा हिमाली क्षेत्रका पदमार्गहरुको मर्मत सम्भार गरी पर्यटकहरु आकर्षित गर्ने जस्ता कार्यहरु गरी पर्यटन क्षेत्रलाई विस्तार गर्नु चुनौतीपूर्ण रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले ग्रामीण क्षेत्रहरुमा शाखा विस्तार गर्दै लगेपनि भौगोलिक विकटताका कारण शाखा विस्तार सदरमुकाममै सीमित रहेको छ । जसका कारण अझै कतिपय दुर्गम तथा ग्रामीण क्षेत्रमा बैंकिङ्ग सुविधा उपभोग गर्न सदरमुकाम सम्मको लामो दूरी पार गर्नुपर्ने बाध्यता छ । जसले गर्दा आधुनिक बैंकिङ्ग सेवाको विस्तार मार्फत बचतकर्ताहरुमा बैंकिङ्ग बानीको विकास गर्ने र संकलित वित्तीय साधन सोही क्षेत्रको कृषि, घरेलु तथा साना उद्योगको प्रवद्र्धनमा उपयोग गर्नुपर्ने चुनौती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL