काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकिकृत कारोबार सञ्चालन गरेको छ । आइतबार एक कार्यक्रमबीच अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको उद्दघाटन गरे ।
बिगत ११ वर्षदेखि बैंकिङ कारोबार गर्दै आएको राष्ट्रियस्तरको रिलायबल डेभलपमेन्ट बैंकले ग्रामिणस्तर सम्म १७ वटा शाखा मार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।
उक्त बैंकको ८ अर्व रुपैयाँ निक्षेप, ७ अर्व रुपैयाँ कर्जा तथा १ अर्व १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको थियो । ग्लोवल आईएमई बैंक नेपाल राष्ट्र बैंकको मर्जर र प्राप्ती नीतिलाई अंगिकार गर्दै हालसम्म १० वटा बैक तथा वित्तिय संस्थाहरुलाई मर्जर र प्राप्ती गरी पूँजीको हिसाबले निजी क्षेत्रको दोस्रो ठुलो बैंक बनेको छ । यस प्राप्ती पश्चात् ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
कुल निक्षेप ९७.७० अर्व, कर्जा लगानी रु. ८२ अर्व, शाखा संख्या ११२, भारत तथा अस्ट्रेलियामा प्रतिनिधि कार्यालय, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढि पुगेको छ ।
ग्लोबल आईएमई बैंकले यसअघि आईएमई फाइनान्सियल इन्स्टिच्युसन, लर्ड बुद्ध फाईनान्स, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, कर्मज एण्ड ट्रष्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंकसंग सफल मर्जर तथा प्राप्ती गरिसकेको छ ।