Logo

जुलाईदेखि एससीटी एटीएम कार्ड हट्दै, ‘युनियन पे’ आउने, १६५ देशमा चल्ने

जुलाईदेखि एससीटी एटीएम कार्ड हट्दै, ‘युनियन पे’ आउने, १६५ देशमा चल्ने


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । एससीटी नेटवर्कले ‘एससीटी एटिएम कार्ड’को सट्टामा ‘एससीटी युनियन पे’ कार्यान्वयनमा ल्याउने भएको छ । एससीटी कार्ड नेपालभित्र मात्रै चल्ने र ग्राहकले विदेश जाँदा प्रयोग गर्न नमिल्ने भएकाले ‘युनियन पे’ कार्यान्वयनमा ल्याउन लागिएको मार्क ट्रेड टेक्नोलोजीका प्रबन्ध निर्देशक रबिन्द्र मल्लले जानकारी दिए । ‘हामीले चाइनीज कम्पनी युनियन पे इन्टरनेशनलको सहकार्यमा उक्त एटीएम कार्ड कार्यान्वयनमा ल्याउन लागेका हौं,’ उनले भने, ‘उक्त कार्ड कार्यान्वयनमा आएसँगै विश्वव्यापी रुपमा चलाउन मिल्नेछ ।’

युनियन पे कार्ड कार्यान्वयनमा ल्याउनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको र यही जुलाई १ तारिखबाटै कार्यान्वयनमा आउने एससीटी नेटवर्कका चीफ बिजनेश अफिसर प्रणय राजभण्डारीले बताए । ‘युनियन पे कार्यान्वयनका लागि सफ्टवेयर तथा हार्डवेयर सबै जाडान भइसेकेको छ,’ उनले भने, ‘अब त्यसलाई बैंक वित्तीय संस्थामा त्यसलाई कार्यान्वयनमा ल्याउन मात्र बाँकी हो ।’ अहिले ५५ भन्दाबढी बैंक वित्तीय संस्थाले एससीटीको एटीएम संचालन गर्दै आएका छ । शुरुवाती चरणमा तिनै संस्थामा एससीटी कार्ड रिप्लेस गरेर एससीटी युनियन पे कार्यान्वयनमा ल्याइने छ । बैंक वित्तीय संस्थामा युनियन पे कार्यान्वयनमा ल्याउनका लागि प्रस्ताव पेश गरी अन्तिम चरणमा पुगिएको समेत उनले जानकारी दिए ।

राजभण्डारीका अनुसार अहिलेलाई युनियन पे नेपाल, भारत र भुटानमा मात्र चल्ने छ । युनियन पे विश्वका १ सय ६५ देशमा चल्ने भएपनि नेपाल सरकारको नीति अनुरुप नेपाल बाहिर भारत र भुटानमा मात्र संचालन गर्न लागिएको हो । ‘युनियन पे कार्यान्वयनमा आएसँगै नेपाली ग्राहकले सो एटीएम कार्ड भारतको १ लाख ६० हजारभन्दा बढी एटीएम काउण्टर र झण्डै ७ लाख अन्य मेसिनहरुमा प्रयोग गर्न सक्नेछन्,’ उनले भने, ‘यो कार्ड कार्यान्वयनमा आएसँगै भारत जाने नेपालीहरुलाई त्यहाँबाट पैसा निकाल्न तथा कार्डबाटै किनमेल गर्न सहज हुनेछ ।’

युनियन पेलाई नेपाल भित्र एससीटी नेटवर्क भित्रै संचालन गरिनेछ । तर, बाहिरी देशमा मात्र युनियन पे इन्टरनेशनलको नेटवर्कमा चलाइने राजभण्डारी बताउँछन् । ‘हामीले नेपालीमा एससीटी नेटवर्कको सहकार्यमा युनियन पे संचालनमा ल्याएका हौं,’ उनले भने, ‘त्यसैले नेपालमा संयुक्त ब्राण्डमा संचालन गरिनेछ ।’ ग्राहकले अहिले जसरी एससीटीको एटिएम कार्ड संचालन गर्दै आएको छन् युनियन पेलाई पनि सोही अनुरुप संचालन गर्न सकिने कम्पनीले जानकारी दिएको छ । साथै एससीटी कार्ड प्रयोग गर्दै आएका बैंक वित्तीय संस्थालाई पनि पुरानै सम्झौता अनुरुप कार्ड उपलब्ध गराइने छ ।

राष्ट्र बैंकको नीति तथा ग्राहकलाई सहज रुपमा सुबिधा प्रदान गर्नका लागि पनि ‘चीप कार्ड’मा जान लागिएको राजभण्डारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्