Logo

नेपालबाट ‘फेज आउट’ हुँदै एससीटी नेटवर्क, अधिकांश बैंक भिसा कार्डमा

नेपालबाट ‘फेज आउट’ हुँदै एससीटी नेटवर्क, अधिकांश बैंक भिसा कार्डमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शुरुमा एससीटी कार्ड प्रयोग गर्दै आएका बैंक वित्तीय संस्थाले त्यसलाई विस्तापित गर्दै भिसा कार्ड कार्यान्यनमा ल्याएका छन् । एससीटी कार्ड नेपालमा मात्र चल्ने भएकाले अन्तराष्ट्रिय स्तरमा प्रयोग गर्न मिल्ने गरी बैंक वित्तीय संस्थाले भिसा कार्ड प्रयोगमा ल्याउन थालेका छन् ।

बैंकहरुले पछिल्लो समय एससीटी हटाउँदै भिसा कार्ड प्रयोगलाई उच्च प्राथमिकता दिएका छन् । अहिले सम्म एससीटी कार्डमार्फत एटीएमको सेवा दिँदै आएको एनबी बैंकले पनि भर्खरै मात्र भिसा कार्ड कार्यान्यवनमा ल्याएको छ । एससीटी कार्डको प्रयोग अन्तरराष्ट्रिय रुपमा हराइसकेको र नेपालमा मात्र चल्ने भएकाले त्यसलाई हटाएर भिसा कार्ड कार्यान्वयनमा ल्याइएको नेपाल बैंकर संघका उपाध्यक्ष तथा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना बताउँछन् । ‘बैंक तथा वित्तीय संस्थाले एससीटी कार्ड मात्र संचालनमा ल्याउदा ग्राहकले विदेशमा गएर सोही कार्डमार्फत किनमेल गर्न तथा पैसा निकाल्न मिल्दैन,’ उनले भने, ‘कार्डलाई अन्तरारष्ट्रिय रुपमा चल्ने बनाई आफ्ना ग्राहकलाई सुविधा दिनमा लागि पनि भिसा कार्डको आवश्यकता छ ।’

ढुङ्गानाका अनुसार शुरुमा एससीटी कार्ड प्रयोग गरेका धेरै जसो बैंकले भिसा कार्डमा प्रयोगमा ल्याएका छन् । एससीटी नेटवर्क नेपालमा मात्र चल्ने भएकाले पनि अबका दिनमा भिसा कार्ड अनिवार्य भएको उनको तर्क छ । पछिल्लो समय धेरै जसो बैंक वित्तीय संस्थाले भिसा कार्ड कार्यान्वयनमा ल्याएपनि कतिपय बैंकले भने एससीटी कार्डलाई पनि सँगै कार्यान्वयमा ल्याएका छन् । तर अबका दिनमा सबै बैंक वित्तीय संस्था भिसा कार्ड वा मास्टर कार्डमा जानुपर्ने उनको भनाइ छ ।

शुरुमा प्रायःजसो बैंक वित्तीय संस्थाले एससीटी कार्ड संचालनमा ल्याएकोमा अहिले त्यसलाई परिवर्तन गर्दै भिसा कार्यान्वयनमा ल्याइरहेका एससीटी नेटवर्क संचालक कम्पनी मार्क ट्रेड टेक्नोलोजीका प्रबन्ध निर्देशक रबिन्द्र मल्लले जानकारी दिए । ‘अहिले पनि बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरी ५५/५६ वटा संस्थाले एससीटी कार्ड प्रयोग गर्दै आएका छन्,’ उनले भने, ‘अब हामीले पनि त्यसलाई विस्तारै परिमार्जन गर्दै अन्तरराष्ट्रिय स्तरमा चल्ने कार्ड कार्यान्वयनमा ल्याउने छौं ।’

अहिले पनि हिमालयन बैंक, नेपाल बैंक, एभरेष्टलगायतका बैंकले एससीटी कार्ड प्रयोग गर्दै आएका छन् । तर, प्रभुलगायत केही बैकले पनि भिसा र एससीटी दुबै कार्ड प्रयोगमा ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL