काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आजबाट एकिकृत कारोबार शुरु गरेको छ । बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात एकिकृत कारोवार शुरु गरेको हो । एकिकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गरेका हुन् ।
दुई बिकास बैंक प्राप्तिसँगै बैकको चुक्ता पूँजी ४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ भने शाखा संख्या ५३ वटा पुगेको छ । एक्विजिशनसँगै बैंकको कुल निक्षेप संकलन ३८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रबाह ३५ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार असार मसान्तसम्ममा ८ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन हाल कायम हुन आएको पूँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त हकप्रद जारी र एक्विजिशन प्रक्रियामा रहेको सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट बैंक र सेती फाइनान्ससँगको एकिकृत कारोबारसँगै चुक्ता पूँजी ८ अर्ब रुपैयाँभन्दा माथी पुग्ने भएको छ ।