Logo

राष्ट्र बैंकले भन्यो, चुक्ता पूँजीको समय थपिँदैन, असार मसान्तसम्म नपुर्याउनेलाई कारबाही हुन्छ

राष्ट्र बैंकले भन्यो, चुक्ता पूँजीको समय थपिँदैन, असार मसान्तसम्म नपुर्याउनेलाई कारबाही हुन्छ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चुक्ता पूँजी बृद्धिको समय थप नगर्ने भएको छ । यही असार मसान्तसम्म तोकिएको चुक्ता पूँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई समय थप नगरिने नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । ‘तोकिएको समयाबधि भित्र चुक्ता पूँजी नपुर्याउने बैंक तथा वित्तीय संस्थालाई केही सहुलियत दिनेकि भन्ने सम्बन्धमा केही छलफल भएको हो,’ उनले भने, ‘तर, पछिल्लो समयमा आएर सयम थप नगर्ने सहमति भएको छ ।’

उनका अनुसार असारको अन्तिममा आएर हकप्रद सेयर जारी गरेको, असारसम्मको कमाइबाट बोनस सेयर जारी गरेको तथा मर्जरमा गएर एकिकृत कारोबार गर्न बाँकी बैंक वित्तीय संस्थालाई मात्र २०७४ असार मसान्तकै समय सीमालाई आधार मानेर छुट दिइने छ । ‘बैंक वित्तीय संस्थाले ती आधारमा तोकिएको चुक्ता पूँजी पुर्याउने स्पष्ट खाका पेश गरेका छुट दिइने छ,’ उनले भने, ‘कुनै ठोस निर्णय नल्याइ बनावटी खाका पेश गरेमा छुट दिइने छैन ।’ बैंक वित्तीय संस्थाले असार मसान्तसम्म तोकिएको चुक्ता पूँजी नपुर्याएमा कानुन अनुसार कारबाही गरिने समेत उनले जानकारी दिए ।

राष्ट्र बैंकले २०७४ असार भित्र बाणिज्य बैंकको ८ अर्ब रुपैयाँ राष्ट्रिय स्तरका विकास बैंकको २ अर्ब ५० करोड रुपैयाँ, ४ देखि १० जिल्ले विकास बैंकको १ अर्ब ५० करोड रुपैयाँ, १ देखि ३ जिल्ला कार्यक्षेत्र भएका विकास बैंकको ५० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो । राष्ट्रिय स्तरका फाइनान्स कम्पनीको ८० करोड रुपैयाँ, ४ देखि १० जिल्ला कार्य क्षेत्र फाइनान्स कम्पनीको चुक्ता पूँजी ४० करोड पुर्याउनुपर्ने व्यवस्था गरेको थियो ।

तर, कतिपय बैंक वित्तीय संस्थाले सो अवधिसम्म चुक्ता पूँजी नपुर्याउने र सोका लागि समय थप गर्न आग्रह गर्दै आएका छन् । राष्ट्र बैंकले केही समय अघि समय थप गर्न बहश चलाएपनि अबका दिन नथप्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL