काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
मेगा बैंकका सिइओ अनिलकेशरी शाह र नबिल इन्भेष्टमेन्टका सिइओ प्रवीणरमण पराजुलीबीच मंगलबार सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
मेगा बैंकले गत बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । सोही बमोजिम बैंकले छिट्टै प्रतिशेयर १ सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरुलाई निष्काशन गर्न लागेको मेगा बैंकका सिइओ शाहले जानकारी दिए ।
हकप्रद शेयर निस्कासन गरेपछि मेगा बैंकको चुक्तापुँजी साँढे ७ अर्ब बढी पुग्नेछ । यसैगरी, आगामी आर्थिक बर्षको मुनाफापछि चुक्ता पुँजी ८ अर्ब पुग्ने बैंकले जानकारी दिएको छ ।
मेगा बैंकको साधारण सभाले बोनस शेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत बोनस शेयर समेत दिने निर्णय गरेको थियो । सोही अनुसार, मेगा बैंकका शेयरधनीहरुले १३.२५ प्रतिशत बोनस शेयर र त्यसको करका लागि प्रतिशेयर ०.७० प्रतिशत नगद लाभांश समेत गरी १३.९५ प्रतिशत बोनस शेयर समेत पाइसकेका छन् ।