काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगानाले अर्थतन्त्र लयमा फर्कँदै गर्दा चुनौति पनि उत्तिकै कायम रहेको बताएकी छीन् । केन्द्रिय बैंकको ७० औं बार्षिकोत्सवमा बोल्दै उनले अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको, मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको बताएकी हुन् ।
पछिल्ला पटक प्रवाहित कर्जा बिस्तारले समेत गति लिन थालेको र चालु आर्थिक वर्षको दोस्रो त्रयमासको आर्थिक वृद्धिको तथ्याङ्कले समेत यसको पुष्टि उनको भनाई थियो ।
‘पछिल्लो समय भएका कानुनी सुधारले लगानीको वातावरण सहज बनाएको छ, यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा छ,’ उनले भनीन्, ‘नेपालको बाह्य क्षेत्र सबल हुँदै गएको छ । विगत दुई वर्षदेखि घट्दै गएको वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको छ ।’
यस्नै उनले विप्रेषण आप्रवाह र पर्यटन आयमा पनि वृद्धि भएका कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चिति बढेको बताईन् ।
अर्थतन्त्र लयमा फर्कँदै गर्दा आन्तरिक अर्थतन्त्रमा संरचनागत एवम् व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भएको बताउँदै उनले उच्च तरलता एवम् न्यून ब्याजदरका बाबजुद निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवम् आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु चूनौति रहेको बताईन् ।
‘पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौतीहरू कायमै छन्,’ उनले भनीन्, ‘पछिल्लो समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरू देखा परेका छन्, एकातिर जारी रुस–युक्रेन युद्ध अन्त्य हुने ठोस आधार हालसम्म नदेखिँदा आपूर्ति व्यवधान हट्ने संभावना अनिश्चित हुँदै गएको छ भने मध्यपूर्वमा जारी द्वन्द्वको अन्त्य अनिश्चित रहेको छ ।’
यसका साथै उनले संयुक्त राज्य अमेरिकाले विभिन्न मुलुकहरूका लागि नयाँ भन्सारदर घोषणालगायत व्यापार नीतिमा परिवर्तन गरेकाले विश्व अर्थतन्त्रमा अनिश्चितता बढेको बताईन् । यस्ता बाह्य कारणले गर्दा मुद्रास्फीति, वैदेशिक सहायता एवम् बाह्य क्षेत्र व्यवस्थापनमा चुनौती थपिने देखिएको उनको भनाई थियो ।