Logo

चैतसम्म वाणिज्य बैंकहरूको नाफा सवा ४१ अर्ब नाघ्यो, नबिल पहिलो हुँदा अन्य बैंकहरुको अवस्था कस्तो ?

चैतसम्म वाणिज्य बैंकहरूको नाफा सवा ४१ अर्ब नाघ्यो, नबिल पहिलो हुँदा अन्य बैंकहरुको अवस्था कस्तो ?



काठमाडौं । चालु आर्थिक वर्ष २०८१ को तेस्रो त्रैमास (चैत मसान्त) सम्म नेपालका २० वटा वाणिज्य बैंकहरूले सवा ४१ अर्ब बढी नाफा आर्जन गरेका छन् । यस अवधिमा बैंकहरुले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । यो अघिल्लो वर्षको सोही अवधिमा ४० अर्ब ६८ करोड ३१ लाख रुपैयाँको तुलनामा १.४० प्रतिशतले बढी हो ।

यो अवधिमा ११ वटा बैंकले नाफा वृद्धि गर्न सफल भएका छन् भने ९ वटा बैंकको नाफा घटेको छ।

सबैभन्दा धेरै नाफा कमाउने बैंक नबिल बैंक हो, जसले ५ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ। दोस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ जसको नाफा ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।

नेपाल बैंकको नाफा उल्लेखनीय रूपमा बढेर २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्षको १३ करोड रुपैयाँको तुलनामा २०३२.८० प्रतिशतले वृद्धि भएको हो। एभरेस्ट बैंकको नाफा ३२.५५ प्रतिशत, सानिमा बैंकको १४.८० प्रतिशत र माछापुच्छ्रे बैंकको २८.८९ प्रतिशतले वृद्धि भएको छ।

तर केही बैंकहरूको नाफामा गम्भीर गिरावट आएको छ। एनआईसी एसिया बैंकको नाफा ९१.८१ प्रतिशतले घटेर १५ करोड ६७ लाख रुपैयाँमा झरेको छ। कुमारी बैंकको नाफा ७२.८५ प्रतिशतले घटेको छ भने हिमालयन बैंकको नाफा ७४.३३ प्रतिशतले घटेको छ।

यसरी नाफामा आएको घटबढको प्रमुख कारण भनेको बैंकहरूको खराब कर्जा दर उच्च हुनु, प्रोभिजनिङ खर्चमा वृद्धि हुनु, र इम्पेयरमेन्ट चार्ज बढ्नु हो। बैंकहरूले धेरै रकम नाफाबाट छुट्याउनुपरेको कारणले पनि खुद नाफामा दबाब परेको देखिन्छ।

कुल मिलाएर, नाफा रकम अघिल्लो वर्षभन्दा बढेको देखिए पनि समग्र बैंकिङ क्षेत्रले अझै वित्तीय दबाब खेपिरहेको संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्