काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा एभरेष्ट बैंकको नाफा बढेर ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । चालु आवको तेस्रो त्रैमाससम्म बैंकको नाफा ३२.५५ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा २ अर्ब ६० करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कर्जा विस्तारसँगै खुद ब्याजदर आम्दानी, शुल्क तथा कमीसन आम्दानी र नेट ट्रेडिङ आम्दानीमा उल्लेख्य वृद्धि भएको छ ।
बैंकको निष्कृय कर्जा घटेसँगै अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा सम्भावित कर्जा नोक्सानीको लागि छुट्याएको रकम घटेको छ । बैंकले गर्न सकेको यो प्रगतिका कारण नाफासँगै बैंकको अधिकांश वित्तीय सूचकमा उल्लेख्य सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नै बैंकको कर्जा २१.३० प्रतिशतले बढेको छ । यस आवको अवधिमा बैंकको कर्जा ३७ अर्ब ९६ करोडले बढेको देखिन्छ । बैंकको निक्षेप १४.६९ प्रतिशत बढेर २ खर्ब ६६ अर्ब ४४ करोड पुगेको छ ।
निक्षेपको तुलनामा कर्जा विस्तार धेरै रहेको र उल्लेख्य कर्जा विस्तारले बैंकको खुद ब्याज आम्दानी १ अर्ब भन्दा धेरैले वृद्धि भएको छ । गत आवको चैत मसान्तमा ५ अर्ब ६३ करोड ३१ लाख रहेको बैंकको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको चैतमा आईपुग्दा यस्तो आम्दानी बढेर ६ र्ब ७४ करोड ४० लाख रुपैयाँ पुगेको छ ।
बैंक खुद फि तथा कमिसन आम्दानी ९७ करोड ८० लाखबाट बढेर १ अर्ब ९ करोड ६४ लाख पुगेको हो । बैंकको नेट ट्रेडिङ आम्दानी बढेर ३८ करोड ९६ लाख रुपैयाँ पुगेको छ । जसको कारणले कुल सञ्चालन आम्दानी पनि बढेर ८ अर्ब १७ करोड ६९ लाख पुगेको छ ।
नाफासँगै बैंकको वितरणयोग्य नाफा पनि उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको चैतसम्म मात्रै २ अर्ब २० करोड ४० लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको बैंकको गत आर्थिक वर्षको लाभांश वितरणपछिको सञ्चित नाफा समेत गर्दा ३ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिएर चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ पुर्याएको बैंकको वार्षिक लाभांश वितरण क्षमता ३४.०९ प्रतिशत छ । बैंकको जगेडा कोषमा १३ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
बोनस सेयरले बैंकको पुँजी बढाउँदा पनि बैंकको प्रतिसेयर आम्दानी बढेर ३५ रुपैयाँ ६१ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात १२.०२ गुणा छ । सीडी रेसियो ८४.०७ प्रतिशत र तेस्रो त्रैमासको औसत आधारदर ५.४५ प्रतिशत छ ।
चैत मसान्तमा बैंकको प्राथमिक पुँजीकोष अनुपात ९.८१ प्रतिशत सहित पुँजीकोष अनुपात १२.६७ प्रतिशत छ । निष्कृय कर्जा अनुपात बाट घटेर ०.६४ प्रतिशतमा झरेको छ ।