काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षकोे ९ महिनामा १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले कमाएको सो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.८१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४०.६६ प्रतिशत घटेको छ।
बैंकको कुल सञ्चालन आम्दानी १०.७७ प्रतिशत र सञ्चालन मुनाफा ६४.४० प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब १४ करोडबाट बढेर ३ अर्ब ५ करोड पुगेको छ। जसका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १५ रुपैयाँ ८९ पैसा घटेर १ रुपैयाँ ४० पैसामा झरेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी ३ अर्ब ५६ करोड रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६६.६४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा रहेको छ।
१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ सञ्चित छ। बैंकको तेस्रो त्रैमासको अन्त्यसम्ममा २ खर्ब ९४ अर्ब ६ करोड १ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।