काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको बैंकले यो वर्ष ३८.६१ प्रतिशतले मुनाफा बढाउन सफल भएको हो।
बैंकको चालु आव २०८१/८२ को पहिलो ९ महिनासम्मको नाफामा उल्लेखनीय वृद्धि भएको हो । नाफामा वृद्धि हुनुमा मुख्य भूमिका बैंकको इम्पेरमेन्ट चार्जमा आएको तीव्र गिरावटले खेलेको छ। अघिल्लो वर्ष ३ अर्ब ४ करोड रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज यो वर्ष घटेर १ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ।
यद्यपि, बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशतले घटेको देखिन्छ। तर, सोही अवधिमा खुद फि तथा कमिशन आम्दानी ३३.२४ प्रतिशतले वृद्धि भएको छ। कुल सञ्चालन आम्दानी १.६५ प्रतिशतले घटेको भए पनि सञ्चालन मुनाफा भने २२.२६ प्रतिशतले बढेको छ। यसले बैंकको मुनाफा सुधारमा सघाएको हो।
बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि उल्लेखनीय रूपमा सुधारिएको छ। गत वर्षको तुलनामा ४ रुपैयाँ ९४ पैसाले वृद्धि भई चैत मसान्तसम्म वार्षिकीकृत ईपीएस १७ रुपैयाँ ७४ पैसा पुगेको छ। तर, आम्दानीका यी सकारात्मक सूचकहरूको विपरीत, बैंकको वितरणयोग्य आम्दानी भने ऋणात्मक देखिएको छ। चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँ नकारात्मक छ।
हाल बैंकको मूल्य-आम्दानी अनुपात ११.९२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ कायम रहेको छ। बैंकको चुक्ता पूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ३० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ सञ्चित छ।
तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ४ खर्ब ५५ अर्ब ८९ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। सोही अवधिमा ३ खर्ब २७ अर्ब ८२ करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।