काठमाडौं । वैशाख महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले चैत महिनाकै मुद्दती निक्षेपको ब्याजदरलाई निरन्तरता दिएका छन्। यो अवधिमा ३ वटा बैंकहरु सानिमा बैंक, कुमारी बैंक र नेपाल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर क्रमशः ६.०५ प्रतिशत, ६.०१ प्रतिशत र ५.५ प्रतिशतबाट घटाएर ५.९५ प्रतिशत, ५.९२ प्रतिशत र ५.१५ प्रतिशत कायम गरेका छन् । यता, एभरेष्ट बैंकले भने ब्याजदर ६ प्रतिशतबाट बढाएर ६.६१ प्रतिशत पुर्याएको छ। बाँकी बैंकहरुले भने चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
वैशाखमा मुद्दती निक्षेपको औसत ब्याजदर ५.९८ प्रतिशत कायम भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलताका कारण ब्याजदर न्यून विन्दुमा झरेको हो। यद्यपि, कर्जा प्रवाह भने अपेक्षाकृत रुपमा हुन सकेको छैन। ब्याजदर घट्दा कर्जा लिनेहरुलाई ठूलो राहत भए पनि लगानीको वातावरण बनाउन अपेक्षित सहयोग पुग्न सकेको छैन। विगत डेढ वर्षदेखि बैंकहरुले लगातार ब्याजदर घटाउँदै आएका छन्, तर कर्जा प्रवाहमा भने उल्लेख्य प्रगति देखिएको छैन।
