काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले माघ १ गतेदेखि खाता खोल्न राष्ट्रिय परिचयपत्र वा नम्बर अनिवार्य गरे पनि केही व्यक्तिहरूले यो बिना पनि खाता खोल्न सक्ने सुविधा पाउनेछन्।
नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुका नाममा सर्कुलर जारी गर्दै विदेशमा बसोबास गर्ने नेपाली नागरिकले अनलाइनमार्फत इजाजतपत्रप्राप्त संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा नम्बरबाहेक अन्य आवश्यक कागजात प्रयोग गर्न सक्ने बताएको हो । यस्तो खाता खोल्ने व्यक्तिले नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित संस्थामा राष्ट्रिय परिचयपत्रको विवरण भने अद्यावधिक गर्नुपर्नेछ।
त्यस्तै, आफ्नो हेरचाह आफैं गर्न नसक्ने असक्त वा असहाय नागरिकले पनि राष्ट्रिय परिचयपत्र वा नम्बरबाहेक अन्य आवश्यक कागजात संलग्न गरेर बैंक खाता खोल्न र कारोबार गर्न सक्नेछन्। यसअघि गएको माघ १ देखि सम्पूर्ण व्यक्तिहरुलाई बैंक खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको थियो ।