काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तारलाई निरन्तरता दिँदै कोशी प्रदेशको खोटाङ जिल्ला, दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका–१ मा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
यो सँगै बैंकको कुल शाखा संख्या २०० पुगेको छ भने कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाहरूको संख्या २८ पुगेको छ। शाखा उद्घाटनसँगै आजैदेखि बैंकिङ कारोबार सुरु गरिएको छ। नयाँ शाखा सञ्चालनको अवसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै खोटाङ दिक्तेलमा नयाँ शाखा खोल्न पाउँदा बैंक गर्व महसुस गरिरहेको बताए।
उनले बैंकले उच्चस्तरीय सेवा प्रदान गर्दै वित्तीय पहुँचलाई सशक्त बनाउने लक्ष्य लिएको उल्लेख गरे। कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी–व्यवसायी, संघ–संस्थाका प्रमुखहरू तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।
बैंकले नयाँ शाखामार्फत ग्राहकहरूको वित्तीय आवश्यकताहरू पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरू माझ वित्तीय पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ। साथै, शाखा उद्घाटनको अवसरमा नयाँ ग्राहकहरूका लागि विशेष सुविधाहरूको घोषणा गरिएको छ। खाता खोल्ने ग्राहकहरूले पहिलो वर्षका लागि निःशुल्क कर्पोरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्राप्त गर्नेछन्। यस्तै, डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था गरिएको छ।
नयाँ शाखा शुभारम्भसँगै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ मा अवस्थित महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले उक्त सामग्री विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका थिए। उनले बैंकको यस सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रविधिमैत्री शिक्षा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे।
हालै मात्र ‘बैंक अफ द ईयर २०२४’ अवार्ड प्राप्त गरेको सिटिजन्स बैंकले नवीनतम प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ। केही समयअघि मात्र बैंकले नेपालमै पहिलो पटक फोन पेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ अर्थात् भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ। साथै, मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सिआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि सुरु गरिएको छ।
सिटिजन्स बैंकले हाल देशभर ६१ जिल्लामा फैलिएका २०० शाखा, १६७ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत करिब १८ लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।