काठमाडौं । चालु आर्थिक बर्ष २०८१/८२ को पछिल्लो सात महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृति कर्जा उल्लेखनीय रूपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक बर्षको अन्त्य अर्थात असार मसान्तसम्म ९० अर्ब रुपैयाँ रहेको मार्जिन कर्जा २०८१ माघसम्म आइपुग्दा १ खर्ब १५ अर्ब रुपैयाँ पुगेको हो । यो अवधिमा मार्जिन कर्जा झण्डै २५ अर्ब रुपैयाँ अर्थात २७ प्रतिशतले वृद्धि भएको छ, जसमा ठूला लगानीकर्ताको प्रभाव उच्च देखिन्छ ।
मार्जिन प्रकृति कर्जाको वृद्धि मुख्य रूपमा १ करोडभन्दा माथिको कर्जा लिनेहरूबाट भएको देखिन्छ । पछिल्लो सात महिनामा मात्रै यो वर्गको कर्जा ३६.६ प्रतिशतले वृद्धि भई ७६ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । गत असारसम्म यस्तो कर्जा ५५ अर्ब ९३ करोड रुपैयाँ प्रवाह भएको थियो ।
यता ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा १७.५ प्रतिशतले वृद्धि भएको छ, जसले मध्यमस्तरका लगानीकर्ताहरूको सक्रियता पनि देखाउँछ । त्यसैगरी, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १२.७ प्रतिशतले मात्र वृद्धि भएको छ भने २५ लाखभन्दा कमको कर्जा सात महिनामा ८.२ प्रतिशत मात्र बढेको छ । यसले सानो रकम लिने ऋणीहरूको पहुँचमा खासै सुधार नभएको संकेत गरेको तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार पछिल्लो समयमा सेयर बजारमा लगानी गर्नका लागि ऋण लिने प्रवृत्ति बढ्नुका साथै व्यापार विस्तार गर्न व्यवसायीहरू बढी ऋणमा आकर्षित भएको देखिन्छ । उच्च तरलतासँगै बैंकहरूले पनि ठूला ग्राहकलाई प्राथमिकता दिएकै कारण मार्जिक प्रकृति कर्जामा वृद्धि भएको हो ।
पछिल्लो समय सेयर बजारमा सकारात्मक लय देखिन थालेपछि ठूला लगानीकर्ताले बैंकबाट बढी ऋण लिएका छन् । त्यस्तै, बैंकहरूले ठूला ऋणीहरूलाई प्राथमिकता दिएकाले पनि ठूला लगानीकर्ताको प्रभाव यस्तो प्रकृतिको कर्जामा बढी देखिएको हो । तर साना तथा मध्यम लगानीकर्ताले भने बैंकहरूबाट सोचेअनुरूप कर्जा पाउन कठिनाइ झेल्नुपरेको विश्लेषकहरू बताउँछन् ।
कुन बैंकले कति दिए ?
गत साउनदेखि माघ मसान्तसम्म वाणिज्य बैंकहरूबाट मात्रै कुल ९३ अर्ब १२ करोड ४९ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ३९.८४ प्रतिशतले बढी हो । गत वर्ष यो अवधिसम्म वाणिज्य बैंकहरूले ६६ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका थिए । यस अवधिमा १७ वटा वाणिज्य बैंकहरूले सेयर कर्जा लगानी बढाएका छन् भने २ बैंकले घटाएका छन् । केही बैंकहरूले आक्रामक रूपमा कर्जा प्रवाह गर्दै लगानीको अनुपात दोब्बरभन्दा बढी बनाएका छन् ।
माघ मसान्तसम्मको तथ्यांकअनुसार, नबिल बैंकले सबैभन्दा बढी १२ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ सेयर धितो कर्जाका रूपमा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा नबिल बैंकको कर्जा १०.७० प्रतिशतले वृद्धि भएको छ । त्यसपछि, ग्लोबल आइएमई बैंकले ११ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७५.७२ प्रतिशत बढी हो ।
नेपाल बैंकले ६१ प्रतिशतले बढाएर ७ अर्ब ७२ करोड रुपैयाँ, प्राइम बैंकले ५६ प्रतिशतले बढाएर ६ अर्ब ५५ करोड रुपैयाँ, सिटिजन्स बैंकले ४२ प्रतिशतले बढाएर ६ अर्ब १५ करोड रुपैयाँ, र राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशतले बढाएर ४ अर्ब ५१ करोड रुपैयाँ मार्जिन कर्जा प्रवाह गरेका छन् ।
यसैगरी, प्रभु बैंकले २९ प्रतिशतले बढाएर ४ अर्ब ३२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २४ प्रतिशतले बढाएर ४ अर्ब १० करोड रुपैयाँ तथा एनएमबि बैंकले ७१ प्रतिशतले बढाएर १ अर्ब ७७ करोड ६८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
त्यसैगरी, वृद्धिको आधारमा नेपाल एसबिआई बैंकले सबैभन्दा बढी १९५५ प्रतिशत वृद्धिसहित ४७ करोड २६ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । माछापुच्छ्रे बैंकले १९२ प्रतिशत वृद्धिसहित १ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
कुमारी बैंकले १०८ प्रतिशत वृद्धि गर्दै ८ अर्ब ६४ करोड २० लाख रुपैयाँ तथा सिद्धार्थ बैंकले ७७ प्रतिशत वृद्धिसहित ८ अर्ब ३८ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा दुई बैंकले भने सेयर धितो कर्जा कटौती गरेका छन् । एनआईसी एशिया बैंकको कर्जा ४३ प्रतिशतले घटेको छ, भने हिमालयन बैंकको कर्जा प्रवाहमा २० प्रतिशतको कमी आएको छ ।