Logo

सम्पत्ति शुद्धिकरणमा थप कठोर बन्दै राष्ट्र बैंक : कर्मचारी संचय कोष, नागरिक लगानी कोष र हायरपर्चेज कम्पनीका लागि नयाँ निर्देशन जारी

सम्पत्ति शुद्धिकरणमा थप कठोर बन्दै राष्ट्र बैंक : कर्मचारी संचय कोष, नागरिक लगानी कोष र हायरपर्चेज कम्पनीका लागि नयाँ निर्देशन जारी



काठमाडौं । पछिल्लो समय नेपाल राष्ट्र बैंक सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणमा कठोर बन्दै गएको छ । यसअघि लगातार हरेकजसो बैंक तथा वित्तीय संस्थाका लागि ग्राहक पहिचानलाई उच्च प्राथमिकता दिन निर्देशन दिएको केन्द्रिय बैंकले पुनः नागरिक लगानी कोष, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष र हायरपर्चेज कर्जा प्रवाह गर्ने कम्पनीहरुका लागि पनि यस्तो परिपत्र जारी गरेको हो ।

राष्ट्र बैंकद्वारा जारी गरिएको परिपत्रमा यी निकायहरुले ग्राहक पहिचानलाई उच्च प्राथमिकता दिँदै कारोबार गर्नुपर्ने उल्लेख छ । हरेक ग्राहकको विवरण लिनुपर्ने, राष्ट्रिय परिचयपत्र या अन्य कुनै प्रमाणित कागजात राख्नुपर्ने, ग्राहकको पहिचान सम्पुष्टि गर्नुपर्ने कुरा परिपत्रमा राखिएको छ । गृह मन्त्रालयले आतंककारी वा अन्य यस्तै प्रकृतिका व्यक्तिहरुको नाम सार्वजनिक गरेको खण्डमा आफ्नो संस्थामा त्यस्ता व्यक्तिको कारोबार छ वा छैन बेलाबेलामा जाँच गर्नुपर्ने कुरालाई पनि परिपत्रमा उल्लेख गरिएको छ ।


यस्ता संस्थामा कारोबार गर्न आउने ग्राहकहरु कुनै उच्च पदस्थ व्यक्ति वा नातेदार रहे/नरहेको पनि विचार गर्नुपर्ने कुरा परिपत्रमा उल्लेख गरिएको छ । पछिल्लो समय हालै फाईनान्सीयल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई ग्रे लिस्टमा राखेपछि यो बिषय झन पेचिलो बन्दै गएको छ । जसका कारण सेबोन, बीमा प्राधिकरण, राष्ट्र बैंकलगायतका निकायहरुले सम्पत्ति शुद्धिकरणको बिषयलाई थप प्राथमिकता दिई काम अघि बढाउँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्