काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकहरूलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ फागुन ८ गतेका दिन फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औँ र फागुन ९ गतेका दिन फुङ्लिङ्ग नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१औँ शाखाको औपचारिक उद्घाटन गरेको छ ।
फिदिम र फुङ्लिङ्गमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ। एभरेष्ट बैंकका शाखाहरूको उद्घाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रिय स्तरको अत्याधुनिक बैंकीङ सेवाहरू प्राप्त गर्ने भएका छन्।
फिदिम र फुङ्लिङ्ग शाखाको उद्घाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक किरण कुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र कोशी प्रदेशका प्रमुख सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले र फुङ्लिङ्ग शाखामा फुङ्लिङ्ग नगरपालिकाका प्रमुख अमिर मादेन लगायत नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरू लगायत स्थानीयवासीको उत्साहजनक उपस्थितिका बीच औपचारिक कार्यक्रम सम्पन्न भएको छ ।
फिदिम र फुङ्लिङ्गमा आफ्नो १३०औँ र १३१औँ शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।साथै आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तिय पहँचबाट बाहिर रहेका अन्य स्थानमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ।