काठमाडौं । नेपाल राष्ट्र बैंकले डेनमार्कको मुद्रा (डेनिस कोर्नर डिकेके) साट्नका लागि फागुन मसान्त (२०२५ मार्च १३) भित्रै आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सूचना जारी गर्दै कानूनी ग्राह्यता खारेज हुनुअघि नै उक्त मुद्रा सटही गर्न अनुरोध गरेको हो।
डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पछि पुराना बैंक नोटहरूको वैधानिकता खारेज गर्ने निर्णय गरिसकेको छ। त्यसैले राष्ट्र बैंकले बैंकिङ विभाग, प्रदेशस्थित कार्यालयहरू, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था वा अधिकृत मनिचेञ्जरहरूमार्फत समयमै नोटहरू सटही गर्न सबैलाई सूचित गरेको छ।
फागुन मसान्तपछि राष्ट्र बैंकसहित कुनै पनि इजाजतप्राप्त निकायले डेनमार्कको पुराना नोट साट्ने कानूनी बाध्यता नरहने जनाउँदै बैंकले जानकारी दिएको छ। साथै, कानूनी ग्राह्यता गुमाउन लागेका नोटबारे विस्तृत विवरण डेनमार्कको केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको समेत सूचनामा उल्लेख गरिएको छ।