Logo

सात महिनामा वाणिज्य बैंकको निक्षेप २ खर्ब ४२ अर्बले बढ्दा कर्जा लगानी २ खर्ब ५६ अर्बले बढ्यो, कुन बैंकको सीडी रेसियो कस्तो ?

सात महिनामा वाणिज्य बैंकको निक्षेप २ खर्ब ४२ अर्बले बढ्दा कर्जा लगानी २ खर्ब ५६ अर्बले बढ्यो, कुन बैंकको सीडी रेसियो कस्तो ?



काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ७ महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पछिल्लो ७ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलन मात्रै २ खर्ब ४२ अर्बले बढ्दा कर्जा प्रवाह २ खर्ब ५६ अर्बले बढेको देखिएको हो ।

तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको अन्तिम महिना असार मसान्तसम्म वाणिज्य बैंकहरुले कुल ५७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । उक्त निक्षेप चालु आवको माघ मसान्तसम्म बढेर ५९ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो । यस्तै गत असार मसान्तसम्म ४५ खर्ब ७० अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह माघ मसान्तसम्म बढेर ४८ खर्ब २७ अर्ब रुपैयाँ पुगेको हो ।

यस अवधिमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले आफ्नो निक्षेप संकलन सुधार गरेको देखिन्छ । बैंकले गत असार मसान्तयता निक्षेपमा ४० अर्बको वृद्धि हाँसिल गर्दै कुल निक्षेप ५ खर्ब २९ अर्ब रुपैयाँ पुर्याएको छ । यस्तै यसै अवधिमा एभरेष्ट बैंकको ३४ अर्बले, एनएमबी बैंकको २७ अर्बले, नबिल बैंकको २३ अर्बले र लक्ष्मी सनराइजको २२ अर्बले निक्षेप संकलन वृद्धि भएको छ । यस अवधिमा निक्षेप संकलन ग्लोबल आइएमईपश्चात नबिल बैंकले ४ अर्ब ९९ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४४ अर्ब, कुमारी बैंकले ३ खर्ब ६१ अर्ब र लक्ष्मी सनराइजले ३ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तै यस अवधिसम्म नेपाल बैंकले ३ खर्ब ४ अर्ब, एनआइसी एशियाले ३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको देखिन्छ ।

यता कर्जा प्रवाहतर्फ पनि ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ४ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा नबिल बैंकले ४ अर्ब ११ अर्ब रुपैयाँ प्रवाह गरेको देखिन्छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ३ खर्ब ५१ अर्ब, कुमारी बैंकले ३ खर्ब १ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८३ अर्ब र हिमालयन बैंकले २ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ ।

सीडी रेसियो कसको कस्तो ?

पछिल्लो समय बैंकहरुमा निक्षेप संकलन उच्च हुँदै गर्दा कर्जा प्रवाह वृद्धिदर भने न्यून नै छ । हालसम्म नेपाल राष्ट्र बैंकले तोकेको कर्जा प्रवाहको लक्ष्यसम्म पुग्ने छाँट देखिँदैन । वाणिज्य बैंकहरुले प्रकाशित गरेको तथ्यांकलाई आधार मान्दा बैंकहरुको न्यूनतम कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ६३ प्रतिशतसम्म झरेको छ ।

बैंकर्स संघका अनुसार राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६८ प्रतिशत, नेपाल बैंकको ७३ प्रतिशत, नेपाल एसबिआई बैंकको ७५.४९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७७.५६ प्रतिशत, प्रभु बैंकको ७५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७८.७७ प्रतिशत र कृषि विकास बैंकको ७५.४३ प्रतिशत सीडी रेसियो कायम भएको छ ।

यस्तै, सिटिजन्स बैंकको ८४.०१ प्रतिशत, एभरेष्ट बैंकको ८३.५१ प्रतिशत, हिमालयन बैंकको ८२.७० प्रतिशत, कुमारी बैंकको ८१.८० प्रतिशत, लक्ष्मी सनराइजको ८०.८० प्रतिशत, माछापुच्छ्रेको ८३.६० प्रतिशत, नबिलको ८२.४४ प्रतिशत, एनआईसी एसियाको ८३.०७ प्रतिशत, एनएमबि बैंकको ८३.६२ प्रतिशत, प्राइम कमर्सियलको ८५.७७ प्रतिशत, सानिमाको ८०.९२ प्रतिशत र सिद्धाथएको ८५.०२ प्रतिशत सीडी रेसियो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्