Logo

बैंक वित्तीय क्षेत्रका ४ संगठनको एकै स्वर : नेपालका बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित छन्

बैंक वित्तीय क्षेत्रका ४ संगठनको एकै स्वर : नेपालका बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित छन्



काठमाडौं। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको स्पष्ट पारेका छन्।

संघहरूले बैंकिङ्ग क्षेत्रमा भइरहेको केही अराजक गतिविधि र सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनीहरूका अनुसार नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी तथा अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तहरूको पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक त्रैमासिक रूपमा वित्तीय विवरण सार्वजनिक गर्दै आएका छन्। साथै, यी संस्थाहरू जोखिम बहन गर्ने पर्याप्त क्षमताका साथ सुरक्षित रहेको संघहरूको दाबी छ।

प्राकृतिक व्यक्तिका नाममा रहेको ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत सुरक्षित रहेको संघहरूले स्मरण गराएका छन्।

संघहरूले आम नागरिकलाई सामाजिक सञ्जालमा देखिने भ्रामक र गलत टिप्पणीप्रति ध्यान नदिन आग्रह गर्दै केवल सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना तथा समाचारलाई मात्र आधिकारिक रूपमा लिन अनुरोध गरेका छन्।

त्यस्तै, बैंकिङ्ग क्षेत्रमा त्रास फैलाउने, गलत अभिव्यक्ति दिने, र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोगबाट वञ्चित गराउने कार्यप्रति कडा कानूनी कारबाही गर्न सरकारलाई आग्रह गरिएको छ। साथै, बैंकिङ्ग क्षेत्रमा विश्वास कायम राख्न सहयोग गर्ने सञ्चार माध्यम तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै संघहरूले आगामी दिनमा अझ सुदृढ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्