काठमाडौं । पछिल्लो समय विभिन्न जातीय तथा कर्जा उपभोग गरिरहेका केही अराजक तत्वको निशानामा बैंकिङ क्षेत्र पर्न थालेको छ । लघुवित्तको विरोधबाट शुरु भएको तथाकथित पीडितहरुको आन्दोलन अहिले अहिले बैंकिङ क्षेत्रमाथि नै देखिन थालेको छ । शुरुवाती चरणमा लघुवित्त पीडितको नाममा शुरु भएको आन्दोलन बैंकका संचालक र तिनले बनाउन थालेको पूर्वाधार विकासको विरोधलाई देखाएर बैंक बन्द गराउने देखि शाखा तोडफोडका घटना समेत बढ्न थालेको छ ।
सुरुवाती चरणमा लघुवित्तका स्वघोषित पीडित र केही अराजक तत्वले नामै तोकेर एनआईसी एसियालगायत केही बैंक डुब्दैछन भनेर दुष्प्रचार गरे । उनीहरुको दुष्प्रचारबाट निक्षेपकर्ताले बैंकबाट एकै महिनामै २७ अर्ब रुपैयाँ बढी झिके । तत्कालीन समयमा पर्याप्त तरलताका कारण एनआईसी एसिया बैंकलाई कुनै ठूलो असर नपरेपनि बैंकप्रति जनमानसमा एकदमै नकारात्मक धारणा पैदा गर्यो । अर्थात बैंक नै सुरक्षित छैन कि भन्ने भ्रम सिर्जना गरिदियो । जसबाट बैंकलाई कर्जा असुलीमा ठूलै सकस पर्न गयो ।
नेपालमा बैंक तथा वित्तीय संस्था अन्य संगठित संस्थाको तुलनामा सबैभन्दा पारदर्शी र बलियो नियामकिय व्यवस्थामा चलेका छन् । जसको हरेक पक्ष सर्वसाधारण जनताले त्रैमासिक रुपमा थाहा पाउन सक्छन् भने सो विषयमा नेपाल राष्ट्र बैंकले दैनिकजसो नियमन र अनुगमन गरिरहेको हुन्छ । तर, पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रको विषयलाई लिएर बनाईएका अराजक भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । उनीहरुले नेपाली बैंक डुब्दैछ, आफ्नो बचत झिक्नु होला वा बैंकको नाम नै तोकेर अनावश्यक दुष्प्रचार गरिरहेका छन् ।
यस्तै कतिपय अराजक तत्वहरुले मारबाडीहरुका बैंक डुब्ने अवस्थामा पुगेको छ भन्दै बैंक पैसा नराख्नसमेत विभिन्न भाषण र भिडियो बनाएर उर्दी जारी गर्दै आएका छन् । जसरी अहिले जातीयताको नाममा होस वा बैंकका अध्यक्ष वा लगानीकर्ताले निर्माण गर्न लागेको पूर्वाधार विकासलाई लिएर बैंक माथि हमला भैरहेको त्यसले तत्कालका लागि सम्बन्धित बैंक वित्तीय संस्थालाई मात्रै असर पुर्याएको देखिएपनि त्यस्ता अराजक तत्वलाई बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक तथा सरकारले कानूनी दायरामा नल्याउने हो भने अन्तरालमा यसले समग्र अर्थतन्त्रलाई असर पुर्याउने निश्चित छ ।
तत्कालीन अवस्थामा सरकारले तथाकथित लघुवित्त आन्दोलनकारीको कर्जा नतिर्ने अभियानलाई आफ्नो नियन्त्रणमा लिन नसक्दा अहिले त्यसकै असरस्वरुप बैंकको खराब कर्जाको अनुपात ह्वात्तै बढ्न पुगेको छ । उदाहरणका धेरैजसो लघुवित्तहरु बैंकको सब्सिडियारीको रुपमा चलेका छन् भने बैंकहरुले विपन्न वर्ग कर्जाअन्तरगत अनिवार्यरुपमा आफ्नो कुल कर्जा प्रवाहको ५ प्रतिशतभन्दा बढी कर्जा लघुवित्तमार्फत परिचालन गरेका छन् । तत्कालीन सरकारले आन्दोलनकारीको कर्जा नतिर्ने अभियानलाई साथ दिँदा अहिले तिनै कर्जा विग्रिएर त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा देखिएको छ ।
नेपालमा सकारात्मक भन्दा नकारात्मक पक्षलाई तत्काल अनुशरण गरिहाल्ने जनताको जमात एकदमै ठूलो छ । कुनै पनि विषयमा नकारात्मक हल्ला चल्यो भने त्यसलाई सामाजिक संजालमार्फत लाईक, सेयर र कमेन्ट गरेर भाईरल बनाईहाल्छन् । बैंकिङ बुझेका व्यक्तिहरूले त्यस्ता भिडियोमार्फत आएका अनर्गल प्रचारलाई सहजै नपत्याए पनि सर्वसाधारण जनता वा डिपोजिटहरु त्यस्तै गलत भिडियोको पछि लागेर बैंकबाट डिपोजिट झिक्ने वा बैंक खाना नै बन्द गर्नेर्फ लाग्न सक्छन् । जुन यसअघि एनआईसी एसिया बैंकमा भएकै हो ।
के साँच्चै नेपाली बैंक डुब्दैछन् त ?
बैंक डुब्ने वा नडुब्ने भन्ने संकेत बैंकले हरेक त्रैमासमा प्रकाशित गर्ने वित्तीय विवरणले प्रष्ट पार्छ या राष्ट्र बैंकले कुन बैंकलाई कसरी नियमन गरिहेको छ भन्ने प्रतिवेदन पनि उसको आफ्नो वेवसाईटमार्फत सार्वजनिक गरिरहेको हुन्छ । तथर्स बैंकिङ क्षेत्रजस्तो संवेदशील क्षेत्रमाथि गरेको भद्दा टिप्पणी तथा भ्युजका नाममा जसरी समाजिक संजालमा अफवाह फैल्याईएको छ त्यसलाई सरकार वा नियामक निकायले तत्काल नियमन गरेर कारबाहीको दायरामा नल्याउने हो भने अहिले झिल्कोको रुपमा फैलिएको यो आगो कमाउधन्दाको लागि ठूलो ज्वारभाटा भएर निस्कने जोखिम उच्च छ । त्यदि त्यसरी बैकिङ क्षेत्रमाथि अफवाह फैलिएर चौतर्फी रुपमा हमला भयो भने बैंकिङ क्षेत्र जोगाउन मुस्किल हुने छ जसबाट अहिले भनिएजस्तो बैंकका साहुजी नभई सर्वसाधारण निक्षेपकर्ता फस्ने सम्भावना उच्च रहन्छ ।
कार्यसम्पादनको हिसाबले हेर्ने हो भनेपनि नेपाली बैंकिङ क्षेत्र दक्षिण एसियामै उत्कृष्ट भनेर दाबी गरिएको छ । अहिले देखिएको खराब कर्जा, गैर बैंकिङ सम्पत्ति, तथा कर्जा दिदा राखिएको धितोलाई आधार मान्ने हो भने नेपालको बैंकिङ क्षेत्र धेरै नै अब्बल रहेको प्रमाणित गर्छ । देशको अर्थतन्त्रमा असर पुग्दा तत्कालका लागि केही खराब कर्जा बढेपनि बैंकहरुले उक्त खराब कर्जाको लागि शतप्रतिशतसम्म प्रोभिजनिङ गरेका कारण तत्कालका लागि बैंकका लगानीकर्ताले प्रतिफल नपाएपनि अर्थतन्त्रमा केही सुधार आउनासाथ उच्च प्रतिफल पाउने निश्चित छ । तर, सो विषयमा आम जनमानसमा वित्तीय जनचेतना फैल्याउन नसक्नु नियामकिय निकाय राष्ट्र बैंक र सम्बन्धित बैंक तथा वित्तीय संस्थाको पनि कमजोरी हो । तसर्थ अबका दिनमा अराजकतत्वहरुले सामाजिक संजालमार्फत फैल्याएको भ्रम चिर्न बैंक तथा वित्तीय संस्थाले वित्तीय साक्षरताका थुप्रै कार्यक्रमहरु संचालन गर्नेपर्ने जरुरी छ ।
आखिर बैंक कसको ?
अहिले बैंक भनेको चन्द्रप्रसाद ढकाल, देवीप्रकाश भट्टचन वा मारबाडीको भनेर प्रचार गरिएको छ । तर, आखिर बैंक भनेको कसको हो र बैंक समस्यामा पर्दा को बढी पीडित हुन्छन ? यो विषयलाई बुझ्नु जरुरी हुन्छ । अहिले नेपालको बैंकिङ क्षेत्रमा ६७ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जुन पैसा आम जनताको पैसा वा निक्षेपकर्ताको हो । जसमा संस्थागत तथा सरकारी कोषहरुको निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ । यसैगरी उक्त निक्षेप संकलन गरी बैंक तथा वित्तीय संस्थाले ५४ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अहिले नेपालका वाणिज्य बैंकहरुको चुक्ता पुँजी र रिजर्भसमेत गरी सबै सेयर होल्डको कुल लगानी ७ खर्ब १३ अर्ब रुपैयाँ छ । तर अहिले त्यहीँ ७ खर्बलाई देखाएर सर्वसाधारण जनताको सवा ६७ खर्ब माथि हमला गर्ने काम भैरहेको छ । जुन एकदमै गलत बुझाई हो ।
उदाहरणका लागि अहिले चन्द्रप्रसाद ढकालले पाथिभारा केबलकार बनाउन लागेको विरोधमा केही जातीय पहिचानवादीहरुले ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई बैंकको शाखामा तोडफोड तथा बैंक बहिष्कार अभियान चलायका छन् । ग्लोबल आईएमई बैंकले अहिले ५ खर्ब रुपैयाँ निक्षेप संकलन गरी परिचालन गरिरकेको छ । यस्तै बैंकसँग चल र अचल गरी साढे ६ खर्ब रुपैयाँको सम्पत्ति छ । उक्त बैंकमा ढकाल समेत सबै लगानीकर्ताको गरी कुल लगानी ३८ अर्ब रुपैयाँ मात्र रहेको छ ।
उक्त बैंकमा सवा ३ लाखभन्दा बढी व्यक्तिको सेयरमा लगानी रहेको छ । अब त्यहीँ ३८ अर्ब रुपैयाँमा पनि ढकालको हिस्सा कति छ भन्ने विषय अर्को छ । कुनै पनि बैंक डुब्दा तिनका संंचालक होइन बचतकर्तालाई ठूलो असर पर्छ । तसर्थ कुनै बैंकका अध्यक्ष, संचालक वा लगानीकर्ताले कुनै पूर्वधार विकास निर्माणको काम गर्दा त्यसको विरोधमा उनीहरुले संचालन गरेको बैंकलाई असर पुर्याउने काम गर्दा तीनका संचालक वा अध्यक्षलाई होइन बचतकर्ताको हितलाई हेरिनुपर्छ । जसका कारण निक्षेपकर्ता बढी मारमा पर्नेछन् । अहिले जसरी पाथिभरा केबलकारको विरोधमा ग्लोबल आईएमई बैंकमाथि हमाला भैरहेको छ । यो एकदमै गैरकानूनी हो र त्यस्ता अराजक तत्वलाई सरकारले तत्काल नियन्त्रणमा लिएर कारबाही गर्नुपर्छ ।