काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म राष्ट्रियस्तरका ८ विकास बैंकहरुले २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.७८ प्रतिशतले धेरै हो। गत वर्षको दोस्रो त्रैमाससम्म यी बैंकहरुले २ अर्ब २५ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।
चालु आर्थिक वर्षको समीक्षा अवधिमा ८ मध्ये ६ बैंकको नाफा बढेको छ भने २ बैंकको घटेको छ। सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ। गरिमाले ५४ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ७.१६ प्रतिशतले बढी हो। दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले ५० करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यसको नाफा १९.७९ प्रतिशतले वृद्धि भएको हो।
समीक्षा अवधिमा सबैभन्दा उच्च नाफा वृद्धिदर ज्योति विकास बैंकले हासिल गरेको छ। यस बैंकले गत वर्षको १० करोड १० लाख रुपैयाँ नाफाबाट यस वर्ष २५ करोड १ लाख रुपैयाँ नाफा आर्जन गर्दै १४७.५७ प्रतिशतको वृद्धिदर कायम गरेको छ। यसपछि सांग्रिला डेभलपमेन्ट बैंकले ९६.१० प्रतिशतले नाफा वृद्धि गर्दै १९ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ। यस्तै, कामना सेवा विकास बैंकको नाफा २४.५५ प्रतिशतले बढेर ३२ करोड २४ लाख रुपैयाँ पुगेको छ।
महालक्ष्मी विकास बैंकको नाफा भने केवल ३.४० प्रतिशतले मात्र वृद्धि भएको छ। गत वर्षको तुलनामा २८ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गर्दै बैंकले न्यून वृद्धिदर देखाएको हो। लुम्बिनी विकास बैंकले सबैभन्दा धेरै नाफा घटाएको बैंकको सूचीमा अग्रस्थानमा छ। यसको नाफा ३०.४६ प्रतिशतले घटेर १४ करोड ७६ लाख रुपैयाँमा झरेको छ। शाइन रेसुङ्गा विकास बैंकको नाफा पनि १०.८७ प्रतिशतले घटेर ३३ करोड रुपैयाँमा सिमित भएको छ।
८ विकास बैंकहरूमध्ये सबैभन्दा धेरै खराब कर्जा सांग्रिला डेभलपमेन्ट बैंकको रहेको छ। यस बैंकको खराब कर्जा ४.९९ प्रतिशत छ। महालक्ष्मीको ४.९३ प्रतिशत, ज्योतिको ४.८८ प्रतिशत, र गरिमाको ४.७२ प्रतिशत खराब कर्जा रहेको छ।
त्यसैगरी, सबैभन्दा कम खराब कर्जा मुक्तिनाथ विकास बैंकको रहेको छ। यसको खराब कर्जा ३.९८ प्रतिशत मात्र छ। यो बैंकपछि कामना सेवा विकास बैंकको खराब कर्जा ४.३५ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानीमा गरिमा विकास बैंक अग्रस्थानमा छ। गरिमाको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३४ पैसा रहेको छ। यस्तै, कामना सेवाको १८ रुपैयाँ ३७ पैसा, महालक्ष्मीको १३ रुपैयाँ ७८ पैसा, शाइन रेसुङ्गाको १३ रुपैयाँ ५७ पैसा, र ज्योतिको १३ रुपैयाँ ३८ पैसा प्रतिसेयर आम्दानी रहेको छ। सबैभन्दा कम प्रतिसेयर आम्दानी सांग्रिलाको मात्र ११ रुपैयाँ ४६ पैसा रहेको छ।
राष्ट्रियस्तरका विकास बैंकहरूमध्ये चालु आर्थिक वर्षमा केही बैंकले उच्च नाफा आर्जन गरे पनि केही बैंकहरूको प्रदर्शन कमजोर देखिएको छ। खराब कर्जा व्यवस्थापन, ब्याज आम्दानी, र सञ्चालन नाफा जस्ता सूचकहरूले बैंकहरूको वित्तीय स्वास्थ्यलाई प्रभाव पारेका छन्। गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंकले आर्जन गरेको उच्च नाफा र स्थिर वृद्धि बैंकहरूको सकारात्मक पक्ष रहेको छ। तर, लुम्बिनी र शाइन रेसुङ्गा विकास बैंकहरूले घट्दो नाफा प्रदर्शन गर्दै चुनौतीको संकेत दिएका छन्।