काठमाडौं । नेपालमा संचालित वाणिज्य बैंकहरुले चालु आर्थिक बर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। यो अवधिमा बैंकहरुको कुल खुद नाफा गत वर्षको तुलनामा ४.६२ प्रतिशतले घटेर २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। बैंकहरुमध्ये ११ वाणिज्य बैंकहरुले नाफा वृद्धि गर्न सफल भए पनि बाँकी ९ बैंकहरुको नाफा घट्दा समग्रमा वाणिज्य बैंक क्षेत्रको नाफामा संकुचन आएको हो।
नबिल बैंकले पुस मसान्तसम्ममा ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गर्दै सबैभन्दा बढी नाफा गर्ने बैंक बन्न सफल भएको छ । यसको नाफा गत वर्षको तुलनामा १.२९ प्रतिशतले मात्र बढेको हो। ग्लोबल आइएमई बैंक ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ। यस बैंकको नाफा गत वर्षको तुलनामा ४९.५१ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ५७.१८ प्रतिशतले वृद्धि भएको हो ।
एभरेस्ट बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गर्दै गत वर्षको तुलनामा २१.११ प्रतिशतले सुधार गरेको छ। एनएमबि बैंकको नाफा २ अर्ब ३ करोड ५४ लाख रुपैयाँमा पुगेको छ, जुन गत वर्षको तुलनामा ४५.६१ प्रतिशतले बढी हो। प्राइम कमर्शियल बैंकले भने १ अर्ब ८६ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन १४.३४ प्रतिशतले घटेको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब ६४ करोड ६३ लाख रुपैयाँ पुगेको छ। यसको नाफा गत वर्षको तुलनामा ४.९७ प्रतिशतले घटेको छ। हिमालयन बैंकले १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गर्दै ०.९८ प्रतिशतले सुधार गरेको छ। प्रभु बैंकले भने सबैभन्दा धेरै ८५.४९ प्रतिशतले नाफा बढाउँदै १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ कमाएको छ।
सानिमा बैंकले १ अर्ब १९ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन ४.७२ प्रतिशतले वृद्धि भएको हो। लक्ष्मी सनराइज बैंकको नाफा १ अर्ब १६ करोड २० लाख रुपैयाँ पुगेको छ। यो ९.७१ प्रतिशतले वृद्धि भएको हो। कृषि विकास बैंकको नाफा भने ९५ करोड ७५ लाख रुपैयाँमा झरेको छ, जुन २९.३५ प्रतिशतले कम हो। नेपाल एसबीआई बैंकले ९० करोड २८ लाख रुपैयाँ नाफा आर्जन गर्दै ७.११ प्रतिशतको सुधार गरेको छ।
माछापुच्छ्रे बैंकले ८० करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा झिनो अंक मात्रै बढी हो। राष्ट्रिय वाणिज्य बैंकको नाफा ७६ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ, जुन ६२.१४ प्रतिशतले घटेको छ। सिटिजन्स बैंकको नाफा ६६ करोड १८ लाख रुपैयाँमा झरेको छ, जुन १५.४५ प्रतिशतले कम हो। सिद्धार्थ बैंकले ५३ करोड २ लाख रुपैयाँ नाफा कमाउँदै गत वर्षको तुलनामा ५३.३६ प्रतिशतले गिरावट बेहोरेको छ।
नेपाल बैंकले ४६ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन २१.८७ प्रतिशतले कम हो। कुमारी बैंकको नाफा २७ करोड ५७ लाख रुपैयाँमा झरेको छ, जुन ६८.०२ प्रतिशतले कम हो। सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक एनआईसी एशिया बैंक रहेको छ। यस बैंकले १५ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गर्दै ९२.०३ प्रतिशतले नाफामा गिरावट बेहोरेको छ।
पुस मसान्तसम्ममा अर्ब क्लबमा ११ बैंक रहेका छन्। तीमध्ये दुई बैंकले ३ अर्बभन्दा बढी नाफा गरेका छन् भने तीन बैंकले २ अर्बभन्दा बढी नाफा गरेका छन्। बाँकी ६ बैंकको नाफा १ अर्बभन्दा बढी रहेको छ।