Logo

प्रभु बैंकको खुद नाफा ८५.४९ प्रतिशतले बढ्यो, कमायो १ अर्ब ३३ करोड

प्रभु बैंकको खुद नाफा ८५.४९ प्रतिशतले बढ्यो, कमायो १ अर्ब ३३ करोड



काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८५.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७२ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरिमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशत बढेको छ । खुद फि तथा कमिशन आम्दानी १७.१८ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी ११.१० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब २५ करोड ७७ लाख रुपैयाँबाट घटेर ८१ करोड ४२ लाख रुपैयाँमा झरेको छ । सो कारण बैंकको सञ्चालन मुनाफा ४५.९५ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ २३ पैसा बढेर ११ रुपैयाँ ३५ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९.३६ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० अर्ब ५४ करोड ४९ लाख रुपैयाँ सञ्चित छ । पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This