काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.१८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.३७ प्रतिशत घटेको छ । बैंकको खुद फि तथा कमिशन आम्दानी ३२.८० प्रतिशत बढेको छ। यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १.८७ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा ३३.६९ प्रतिशत बढेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ६ रुपैयाँ ४ पैसा बढेर १६ रुपैयाँ ६० पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.७१ गुणा रहेको छ। यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। हाल बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा २९ अर्ब २ करोड ६९ लाख रुपैयाँ सञ्चित छ।