काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा नेपालका बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा सुस्त वृद्धि देखाएका छन्। यस अवधिमा बैंकिङ प्रणालीको कर्जा वृद्धि दर मात्र ३.२ प्रतिशतमा सीमित रहँदा मार्जिन कर्जा भने १९.८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले जम्मा १ खर्ब ६३ अर्ब ७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। असार मसान्तमा कुल ५१ खर्ब ६७ अर्ब १७ करोड ३० लाख रुपैयाँ रहेको कर्जा मंसिर मसान्तसम्म आइपुग्दा ५३ खर्ब ३० अर्ब २४ करोड ५१ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा मार्जिन कर्जाको मागमा उल्लेखनीय वृद्धि देखिएको छ। राष्ट्र बैंकका अनुसार, पाँच महिनामा मात्र १७ अर्ब ८५ करोड २० लाख रुपैयाँको मार्जिन कर्जा प्रवाह भएको छ। कुल मार्जिन कर्जा ७१ अर्ब १८ करोड ४६ लाख रुपैयाँमा पुगेको छ। यो वृद्धि मुख्यतः संस्थागत लगानीकर्ताहरूका लागि कर्जाको सीमा हटाइएपछि भएको हो।
मार्जिन कर्जाको वृद्धिदर विभिन्न श्रेणीमा फरक देखिएको छ। १ करोड रुपैयाँभन्दा माथिको मार्जिन कर्जामा सबैभन्दा धेरै २७.३ प्रतिशतले वृद्धि भएको छ। यो समूहका लगानीकर्ताहरूले पाँच महिनामा मात्र १५ अर्ब २५ करोड ४४ लाख रुपैयाँ थप कर्जा लिएका छन्। कुल ७१ अर्ब १८ करोड ४६ लाख रुपैयाँ कर्जा यो समूहले उपभोग गरिरहेका छन्। त्यस्तै, ५० लाखदेखि १ करोड रुपैयाँको मार्जिन कर्जामा ११.३ प्रतिशतले वृद्धि भएको छ। यो समूहले पाँच महिनामा १ अर्ब ४० करोड ४२ लाख रुपैयाँ थप कर्जा लिँदा कुल कर्जा १३ अर्ब ७३ करोड १८ लाख रुपैयाँ पुगेको छ।
२५ लाखदेखि ५० लाख रुपैयाँसम्मको मार्जिन कर्जाको वृद्धि दर ५.९ प्रतिशत रहेको छ। यस समूहले पाँच महिनामा ८५ करोड ६७ लाख रुपैयाँ थप कर्जा लिँदा कुल कर्जा १५ अर्ब २७ करोड ९८ लाख रुपैयाँमा पुगेको छ। साना कर्जामा भने वृद्धिदर निकै न्यून देखिएको छ। २५ लाख रुपैयाँभन्दा कमको कर्जामा वृद्धि दर ४.६ प्रतिशत मात्र रहेको छ। पाँच महिनामा यस समूहले ३३ करोड ६७ लाख रुपैयाँ थप कर्जा लिँदा कुल कर्जा ७ अर्ब ६४ करोड ९० लाख रुपैयाँ पुगेको छ।
बैंकरहरूको भनाइअनुसार, साना रकमको कर्जा वृद्धिदर न्यून हुनुका कारण ठूला रकमको कर्जाको माग उच्च हुनु हो। हालको आर्थिक परिस्थितिमा साना लगानीकर्ताहरूले तुलनात्मक रूपमा कम कर्जा लिँदा ठूला लगानीकर्ताको माग बढिरहेको छ।
यस अवधिमा वाणिज्य बैंकहरूले खुद नाफा आर्जनमा पनि उल्लेखनीय प्रदर्शन गरेका छन्। पाँच महिनामा बैंकहरूले कुल ३० अर्ब ५९ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन्। नाफा आर्जनमा नबिल बैंक सबैभन्दा अगाडि छ। यस बैंकले ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने ग्लोबल आइएमई बैंकले २ अर्ब ८३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। नेपाल ईन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ४९ करोड रुपैयाँ नाफा आर्जन गर्दै तेस्रो स्थानमा छ।
नेपाल बैंकले गत कात्तिकको तुलनामा सबैभन्दा बढी ६१.४५ प्रतिशतले नाफा वृद्धि गरेको छ। बैंकले कात्तिकसम्म ९३ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेकोमा मंसिरसम्म यो १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ पुगेको छ। एनआईसी एसिया बैंकले पनि कात्तिकको तुलनामा नाफा ६३ प्रतिशतले बढाएको छ। अन्य बैंकहरूमध्ये सिटिजन्स बैंकले ५८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५६ प्रतिशत, र लक्ष्मी सनराइज बैंकले ५३.४१ प्रतिशतले नाफा वृद्धि गरेका छन्।
मार्जिन कर्जाको माग उच्च देखिनुको प्रमुख कारण संस्थागत लगानीकर्ताहरूका लागि कर्जाको सीमा हटाइनु र ठूला रकमको कर्जाको लागि आकर्षण बढ्नु हो। बैंकिङ प्रणालीको समग्र कर्जा वृद्धि सीमित रहे पनि मार्जिन कर्जाको उल्लेखनीय वृद्धि बैंकहरूको लागि सकारात्मक संकेतका रूपमा लिइएको छ।