Logo

माघका लागि अधिकांश बैंकको ब्याजदर स्थिर, दुईको घट्यो, १ को बढ्यो

माघका लागि अधिकांश बैंकको ब्याजदर स्थिर, दुईको घट्यो, १ को बढ्यो



काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले माघ महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाकै बराबर यथावत राखेका छन् । अधिकांश बैंकहरूले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केही बैंकले ब्याजदर घटाएका र केहीले बढाएका छन् ।

१७ वटा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई पुस महिनाकै स्तरमा राखेका छन् । यद्यपि, दुई बैंकले ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ । ब्याजदर बढाउनेमा लक्ष्मी सनराइज बैंक रहेको छ । यस बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५० प्रतिशतबाट बढाएर ५.७५ प्रतिशत पुर्याएको छ ।

त्यस्तै, ब्याजदर घटाउने बैंकहरूमध्ये नेपाल एसबिआई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा झारेको छ । कृषि विकास बैंकले पनि आफ्ना दर घटाउँदै ५.५७ प्रतिशतबाट ५.५१ प्रतिशतमा झारेको छ ।

पुस महिनाको तुलनामा माघ महिनामा बैंकहरूको औसत ब्याजदर ०.०१५५ प्रतिशत विन्दुले घटेको देखिन्छ । यसले बैंकिङ क्षेत्रमा ब्याजदर समायोजनको निरन्तरता र बजार स्थायित्वका लागि प्रयासलाई झल्काउँछ ।

प्रतिक्रिया दिनुहोस्