Logo

पाँच महिनामै ११.४ प्रतिशतले बढ्यो विदेशी मुद्रा संचिति, साढे १७ महिनाको आयात धान्ने

पाँच महिनामै ११.४ प्रतिशतले बढ्यो विदेशी मुद्रा संचिति, साढे १७ महिनाको आयात धान्ने



काठमाडौं । गत आर्थिक बर्षको असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले वृद्धि भएको छ । चालु आवको मंसिरसम्म अर्थात पछिल्लो ५ महिनामा मात्रै मुद्रा संचिति बढेर २२ खर्ब ७३ अर्ब २६ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा १०.० प्रतिशतले वृद्धि भई २० खर्ब ३३ अर्ब २७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा २४.६ प्रतिशतले वद्धि भई २ खर्ब ४०अर्ब कायम भएको छ । २०८१ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्