Logo

लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र : राष्ट्र बैंकको लगानी रहेका संस्थाको सेयर, डिबेञ्चरमा लगानी गर्न पाउने

लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र : राष्ट्र बैंकको लगानी रहेका संस्थाको सेयर, डिबेञ्चरमा लगानी गर्न पाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि नयाँ परिपत्र जारी गर्दै सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न खुला गरेको छ ।

यसअघि लघुवित्त वित्तीय संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न नपाईने व्यवस्था थियो । तर, राष्ट्र बैंकको काम कारबाही वा दायित्व पूरा गर्न सहयोग पुर्याउने उद्देश्यले स्थापित नेशनल बैंकिङ इन्स्टिच्युट, नेपाल क्लियरिङ हाउस, कर्जा सूचना केन्द्र, र नेपाल फिनसफ्ट कम्पनीमा लगानी गर्न भने बाधा नपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । केन्द्रिय बैंकले नयाँ परिपत्रमा फिनसफ्टलगायतका कम्पनीमा लगानी गर्न खुला गर्ने उद्धेश्यसहित बुँदा थप गरेको हो ।

परिपत्रमा उल्लेख भएअनुसार, प्रतिबन्धित क्षेत्रबाहेकका संस्थामा गरिएको लगानी रकमलाई पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाउनुपर्ने प्रावधान समावेश गरिएको छ। साथै, थोक कर्जा प्रदायक लघुवित्त संस्थाले खुद्रा कारोवार गर्ने लघुवित्त संस्थासँग गाभ्ने÷गाभिने वा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा, ती संस्थाले खुद्रा कारोवार गर्ने लघुवित्त संस्थाको रुपमा कार्य गर्न पाउने प्रस्ट व्यवस्था गरिएको छ।

सेयरधनीको हकमा, चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने व्यक्तिका परिवार सदस्यहरूलाई कार्यकारी पद वा कुनै अन्य तहमा कर्मचारीका रुपमा नियुक्त गर्न नपाइने उल्लेख छ। त्यस्तै, ५ प्रतिशत वा सोभन्दा बढी सेयर धारण गर्ने व्यक्तिलाई कार्यकारी प्रमुखमा नियुक्ति रोक लगाइएको छ।

वित्तीय विवरण तयारीमा नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार प्रतिवेदन तयार गर्नुपर्ने प्रावधान लागू हुनेछ। यदि कुनै क्षेत्रलाई एनएफआरएसले नसमेटेको भए, अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदनमान (आइएफआरएस) को आधार लिनुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्