Logo

लक्ष्मी सनराइजको अगुवाइमा १०२ मेगावाटकाे अप्पर मर्स्याङ्दी–१ अघि बढ्दै, ३ बैंकको १६ अर्ब लगानी

लक्ष्मी सनराइजको अगुवाइमा १०२ मेगावाटकाे अप्पर मर्स्याङ्दी–१ अघि बढ्दै, ३ बैंकको १६ अर्ब लगानी



काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर लिमिटेडबीच १०२ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि सहकार्यको सम्झौता भएको छ। लमजुङ जिल्लास्थित मर्स्याङ्दी नदीमा निर्माण हुने अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजना निर्माणका लागि सहवित्तीयकरणमा सहभागी बैंकहरुले लगानी गर्ने प्रतिवद्धता गरेका छन्। आयोजनाको कुल लागत २१.४० अर्ब रुपैयाँ रहेको छ।

विद्युत् उत्पादनका लागि यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ। अप्पर मर्स्याङ्दी हाइड्रोपावर लिमिटेडले पुष १०, २०७५ मा विद्युत् विकास विभागबाट विद्युत् उत्पादन अनुमति पत्र लिएको थियो भने पौष ९, २०८१ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न गरेको छ। आयोजनाका प्रवर्द्धकहरुमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन्।

लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले आयोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। बाँकी २५.२३ प्रतिशत रकम कम्पनीका प्रवर्द्धक तथा संस्थापकहरुले लगानी गर्नेछन्। लक्ष्मी सनराइज बैंकले आयोजना निर्माणका लागि ७ अर्ब रुपैयाँको टर्म लोन प्रतिवद्धता गरेको छ। सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरुमा ग्लोबल आइएमई बैंकले ६ अर्ब र प्रभु बैंकले ३ अर्ब गरी कुल १६ अर्ब रुपैयाँ लगानी गर्नेछन्।

आयोजना २०२९ सम्म निर्माण सम्पन्न गरी वार्षिक ५८३.०३ गिगावाट आवर ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको छ। उत्पादन भएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। यो आयोजना सम्पन्न भइसकेपछि ठूला स्वतन्त्र ऊर्जा उत्पादकमध्ये एक हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्