काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गर्दै सेयर कारोबार समेत रोक्का गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम यो निर्णय गर्दै बैंकको व्यवस्थापनलाई समेत आफ्नो नियन्त्रणमा लिएको छ । सोही बैंठकले उक्त बैंकको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार समेत रोक्का राख्ने निर्णय गरेको हो ।
‘राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का राख्ने निर्णय गरिसकेको छ,’ उक्त स्रोतले भन्यो, ‘भोली (बिहीबार) बिहान कारोबार समय अगावै नेप्सेमा उक्त पत्र पुग्ने छ ।’ राष्ट्र बैंकको उक्त पत्रसँगै नेप्सेले बिहीबार कारोबार समय अगावै उक्त सेयर रोक्का राख्ने छ ।
राष्ट्र बैंकले व्यवस्थापन टेकओभर गर्दै बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गरेको छ । उक्त समितिको सदस्यहरुमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहा रहेका छन् । यो समूहले २०८१ पुस ११ देखि काम सुरू गर्नेछ ।
नेपाल राष्ट्र बैंकले कारबाही गरेसँगै उक्त सेयरको मूल्यमा सकारात्मक सर्किट लागेको थियो । केही समयअघि मात्रै उक्त बैंकको सेयर मूल्य प्रतिकित्ता ६७० पुगेको थियो । मंगलबार पनि उक्त कम्पनीको सेयर मूल्य सर्किट नजिक पुगेको पुग्दै केही करेक्नस हुँदै ८१० रुपैयाँ कायम भएको थियो ।