Logo

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले सम्हाल्याे व्यवस्थापन

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, राष्ट्र बैंकले सम्हाल्याे व्यवस्थापन



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ। राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम यो निर्णय गरेको हो। बैंकको व्यवस्थापनलाई नेपाल राष्ट्र बैंकको नियन्त्रणमा ल्याइने व्यवस्था गरिएको छ।

बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ। समूहका सदस्यहरूमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहा रहेका छन्। यो समूहले २०८१ पुस ११ देखि काम सुरू गर्नेछ।

समूहलाई बचतकर्ताको हित संरक्षण गर्दै बचत भुक्तानी, ऋण असुली, वित्तीय अपचलन छानबिन र कानुनी कारबाही अगाडि बढाउने जिम्मेवारी दिइएको छ। कर्णाली डेभलपमेन्ट बैंकले तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम नगर्नु, संस्थागत सुशासन कमजोर हुनु, आर्थिक हिनामिना हुने आशंका हुनु, र भुक्तानी गर्न नसक्ने अवस्था उत्पन्न भएकाले यो निर्णय गरिएको हो।

यसअघि पनि बैंकलाई वित्तीय अवस्था सुधार गर्न शीघ्र सुधारात्मक कारबाही गरिएको थियो। तर, समस्या थप गहिरिँदै गएको भन्दै राष्ट्र बैंकले यसलाई नियन्त्रणमा लिएको हो। निक्षेपकर्ताको हित र बैंकिङ प्रणालीमा विश्वास कायम राख्न यो कदम उठाइएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्