Logo

बैंकर र गभर्नरको जुहारी : रमाएर होइन कमाएर सेयरधनीलाई नाफा बाँडन निर्देशन

बैंकर र गभर्नरको जुहारी : रमाएर होइन कमाएर सेयरधनीलाई नाफा बाँडन निर्देशन



काठमाडौं । नेपाल बैंकर्स संघको वार्षिक साधारणसभामा लगानीकर्ता एवं पूर्व बैंकर राजनसिंह भण्डारीले राष्ट्र बैंकको अनावश्यक हस्तक्षेपका कारण बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्न नसकेको आरोप लगाएसँगै गभर्नर महाप्रसाद अधिकारीले त्यसको प्रतिवाद गरेका छन् ।

नेपाल बैंकर्स संघको ३८ औं साधारण सभामा बोल्दै सिटिजन्स बैंकका पूर्व अध्यक्ष एवं पूर्व प्रमुख कार्यकारी अधिकृत भण्डारीले राष्ट्र बैंकले सिमित बैंकको स्वार्थमा नीति नियम परिवर्तन गर्ने तथा बैंकलाई नाफा वितरण गर्न नदिन विभिन्न बाध्यकारी नियम ल्याएर लगाम लगाएको अरोप लगाएका थिए । तर, उनको उक्त अभिव्यक्तिपछि बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले समयसापेक्ष सबैलाई एउटै नियम ल्याएको र त्यसभित्र बसेर कतिपय बैंकले राम्रो काम गरेको भन्दै भण्डारीले संचालन गर्दै आएको सिटिजन्स बैंक इन्टरनेशनल लगायतलाई हचुवाको भरमा रमाएर नभई काम गरेर मुनाफा गरी लाभांश वितरण गर्न निर्देशन दिएका थिए ।

अहिले विषम परिस्थितिमा पनि राष्ट्र बैंकको निर्देशन मानेर प्रुडेन्ट बैंकिङ गर्नेले लगानीकर्तालाई २६ प्रतिशतसम्म लाभांश दिएको भन्दै अन्य बैंकलाई पनि सोही अनुरुप नाफा आर्जन गरेर लगानीकर्तालाई बोनस वितरण गर्न गभर्नर अधिकारीले निर्देशन दिएका छन् । ‘राम्रो काम गर्ने बैंकले अहिलेको विषम परिस्थितमा पनि लगानीकर्तालाई उच्च लाभांश वितरण गर्दै आएका छन्,’ गभर्नर अधिकारीले भने, ‘तसर्थ जालझलेल गरेर क्षणिक लाभलाई नहेरी राम्रोसँग बैंकिङ गर्नुस अहिलेपनि राम्रो मुनाफा आर्जन गर्न सकिन्छ, लगानीकर्तालाई राम्रो मुनाफा वितरण गर्न सकिन्छ ।’ तर, नियम फलो नगरी हचुवाको भरमा बैंकिङ गर्नेले राष्ट्र बैंकले जस्तो सहज नियम ल्याएपनि लगानीकर्तालाई मुनाफा दिन नसक्ने उनको तर्क थियो ।

हाल राष्ट्र बैंकले बैंकहरुलाई बलियो र स्वस्थ बनाउनकै लागि प्रोभिजनिङको व्यवस्था गरेको भन्दै दिर्घकालिन रुपमा उक्त प्रोभिजनिङ वापतको रकम लगानीकर्ताले नै पाउने गभर्नर अधिकारीको भनाई थियो । ‘बैंकहरुले धेरै नाफा खान्छ भनेर प्रोभिजनिङ गर्न लगाएको होइन, यदि प्रोभिजनिङ नगराउने हो भने भोलीदेखी बैंकहरुलाई खोज्दै हिड्नुपर्ने अवस्था आउँछ,’ उनले भने, ‘बैकिङ क्षेत्र निकै संवेदनशील क्षेत्र हो तसर्थ हामीले बैंक वित्तीय प्रणालीलाई सुरक्षित राख्न प्रयास गरिरहेका छौं ।’

नेपालको बैंकिङ क्षेत्रमा प्रशस्त चुनौतीहरु भएपनि, ती चुनौतीहरुलाई सामना गर्न नेपालको बैंकिङ क्षेत्र सक्षम रहेको गभर्नर अधिकारीको भनाई थियो । साथै तत्कालका लागि नेपालको बैंकिङ क्षेत्रमा केही असहज अवस्था भएपनि आउँदो दिनहरु राम्रो हुने बताउँदै निराश नभइकन सकारात्मक सोचका साथ अगाडि बढ्न सबै बैंकरहरुलाई उनले आग्रह गरे ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष एवं एनएमबी बैंकका सीईओ सुनिल केसीले आफ्नो कार्यकालमा भएका मूख्य गतिविधिको जानकारी दिंदै सबैको सहयोग एवं सद्भावको लागि धन्यवाद प्रकट गरे । उनले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै उत्कृष्ट रहेको बताउँदै त्यसको लागी नेपाल राष्ट्र बैंकले पुर्याएको महत्त्वपूर्ण भूमिका नेपाल राष्ट्र बैंकले खेलेको अभिभावकत्वको भूमिकाका लागि धन्यवाद व्यक्त गरेका थिए । बुधबार (हिजो) देखि बैंकर संघको अध्यक्षको जिम्मेवारी माच्छापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले सम्हालेका छन् ।

संघको वार्षिक साधारणसभाको अवसरमा प्रत्येक वर्ष बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने परम्परा अनुरुप पूर्व बैंकर राजन सिंह भण्डारीलाई सम्मान–पत्र प्रदान गरिएको थियो । यसैगरी सो कार्यक्रममा ग्लोबल आईएमई बैंकका पूर्व सीईओ रत्नराज बज्राचार्य र राष्ट्रिय वाणिज्य बैंकका पूर्व सीईओ किरणकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्