काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल पे क्युआर मर्चेन्टहरूका लागि थप सुविधा ल्याएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (नेपाल पे) बीच भएको सम्झौता अनुसार विश्वका करिब ४८ देशहरूसँग आबद्धता रहेको अलिपे प्लसको नेटवर्कमार्फत नेपालमा क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सकिने भएको छ ।
सम्झौता अनुसार नेपाल क्लियरिङ हाउसले यसको सहजीकरण गर्नेछ । यसबाट नेपाल पे क्युआर लिएका यस बैंकका मर्चेन्टहरूले अब आफ्नो व्यापारलाई अझ वृद्धि गर्न सक्ने भएका छन् ।
नेपाल पे क्युआर हाल सम्म नलिएका ग्राहकहरूले आफ्नो खाता भएको शाखामा सम्पर्क गरी यस्तो सुविधा प्राप्त गर्न सक्नेछन्।खासगरी चीन, थाइल्यान्ड, हङकङ, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, दक्षिण कोरिया, स्विडेन तथा ईटली लगायत अलिपे प्लस नेटवर्कमा आबद्ध देशहरूबाट आएका पर्यटकहरूले आफ्नो देशको विभिन्न वालेट मार्फत रकम भुक्तानी गर्न सक्नेछन् ।
यस्तो कारोबारबाट विदेशीले नेपालमा सहजै रकम भुक्तानी गर्न सक्ने हुँदा डिजिटल कारोबारमा वृद्धि भई अर्थतन्त्र थप चलायमान हुने अपेक्षा गरिएको छ ।