काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले पुस ११ गते १५औँ वार्षिक साधारण सभा गर्ने भएको छ। लघुवित्त सञ्चालक समितिको मंसिर ११ गते बसेको बैठकले सभाको मिति र स्थान तय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजे सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँ चुक्तापूँजीको ९ प्रतिशतबराबरको ११ करोड १० लाख ४४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतबराबरको ५८ लाख ४४ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश पारित गर्नेछ।
त्यसैगरी, साधारण सभाले अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, र मर्जर तथा एक्विजिशनसम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डामा पनि छलफल र निर्णय गर्नेछ। साथै, सर्वसाधारण सेयरधनीहरूबाट तीनजना सञ्चालकको निर्वाचन पनि हुनेछ।
लाभांश र साधारण सभाका लागि लघुवित्तले मंसिर २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, मंसिर २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।