काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक लगाएको छ । बैंकको वित्तीय अवस्था ज्यादै नाजुक भएको र तोकिएबमोजिमका सूचकहरु पुर्याउन नसकेको भन्दै केन्द्रिय बैंकले यसको कारोबारमा रोक लगाएको हो ।
बैंकको निष्क्रिय कर्जा करिब ४१ प्रतिशत पुगेको थियो । जसले बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएकोले कर्जा दिने र ऋण लिने कार्यमा रोक लगाइएको देखिन्छ ।
यो अवस्थामा राष्ट्र बैंक ऐनले तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली अनुसार ६ महिनाभित्र सुधार गर्नेगरी शीघ्र सुधारात्मक कारबाही गरेको जनाएको हो ।
उक्त बैंकले असार मसान्तको वित्तीय विवरणमा निष्क्रिय कर्जा ७ प्रतिशत मात्रै रहेको देखाएको थियो । लगत्तै स्थलगत अनुगमन गर्दा निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पाइएको राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकले कर्णाली विकास बैंकलाई थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाएको छ ।