Logo

बैंकको वित्तीय विवरणमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६ महिने प्रोभिजन हटाउँदा नाफामा उल्लेख्य सुधार

बैंकको वित्तीय विवरणमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, ६ महिने प्रोभिजन हटाउँदा नाफामा उल्लेख्य सुधार



काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको चालु आर्थिक बर्ष २०८१/८२ को मौद्रिक नीतिका कारण बैंकहरुको नाफामा सुधार देखिएको छ । राष्ट्र बैंकले बैंकहरुले खराव कर्जाको कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) गर्नुपर्ने ६ महिने व्यवस्थालाई हटाएसँगै चालु आवको पहिलो त्रैमासमा बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको हो ।

यसअघि राष्ट्र बैंकको व्यवस्थाअनुसार कुनै ऋणीले आफ्नो खराब कर्जा चुक्ता गरेपनि उक्त रकमलाई बैंकले लगातार ६ महिनासम्म प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो । तर, चालु आवको मौद्रिक नीतिमार्फत त्यसरी चुक्ता भएको ऋणलाई प्रोभिजन नगरी वाचलिस्टमा मात्रै राखे पुग्ने व्यवस्था गरेका कारण नाफामा सुधार देखिएको हो ।

चालु आवको असोज मसान्तसम्म बैंकहरुको कर्जा असुलीमा उल्लेख्य सुधार नदेखिएपनि त्यसअघि प्रोभिजन गरेको रकमलाई घटाएर आम्दानीमा देखाउँदा नाफा बढेको सम्बद्ध बैंकरहरु बताउँछन् । ‘यसअघि असुली भएको कर्जा रकमलाई पनि ६ महिनासम्म प्रोभिजन गर्दा बैंकको नाफामा नकारात्मक असर परेको थियो,’ एक बैंकका सीइओले भने, ‘केन्द्रिय बैंकले चालु आवको मौद्रिक नीतिमार्फत त्यसलाई हटाएर सहजीकरण गरिदिँदा नाफामा उल्लेख्य सुधार देखियो ।’

यस्तै यसअघि असल कर्जामा १.३ प्रतिशत प्राभिजन गर्नुपर्ने व्यवस्था रहेकोमा राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत १.१ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्ने व्यवस्था गरेको छ । त्यसले पनि बैंकहरुको नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ । राष्ट्र बैंकका यिनै व्यवस्थाका कारण नै नेपालमा संचालित २० वाणिज्य बैंकहरुले गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा खुद नाफामा २१.६३ प्रतिशतले वृद्धि गर्न सफल भएका छन् ।
गत आर्थिक बर्षको पहिलो त्रैमासमा १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका २० वाणिज्य बैंकहरुले चालु आवको सोही अवधिमा बढाएर १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ बराबर मुनाफा आर्जन गरेका हुन् ।

यस अवधिमा १२ बैंकको नाफामा सुधार आउँदा बाँकी ७ बैंकको नाफामा भने गिरावट आएको छ । बैंकहरुको वित्तीय विवरणअनुसार गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा सिद्धार्थ बैंकको नाफा सबैभन्दा बढी ७९१.४३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४ करोड २८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको यो बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३८ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै लक्ष्मी सनराइज बैंकको नाफामा पनि उच्च सुधार आएको देखिन्छ । यस अवधिमा बैंकको नाफा ४ सय २० प्रतिशतले बढेर ५३ करोड ६३ लाख रुपैयाँ पुगेको देखिन्छ । गत आवको यहि अवधिमा बैंकको नाफा १० करोड ३० लाख रुपैयाँ बराबर थियो । यस्तै यस अवधिमा नेपाल बैंकको नाफा ३ सय २२ प्रतिशतले बढेर ६० करोड २१ लाख रुपैयाँ पुग्दा कुमारी बैंकको नाफा ३ सय ८ प्रतिशतले वृद्धि भएर १ अर्ब ७ करोड रुपैयाँ नाघेको छ ।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउने बैंकको सूचीको पहिलो स्थानमा नबिल बैंक छ । बैंकले चालु आवको पहिलो त्रैमासमा २ अर्ब ५ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ । यो गत आवको यहि अवधिको तुलनामा ३९ प्रतिशतले बढी हो । यस्तै धेरै नाफा आर्जन गर्ने बैंकको दोस्रो स्थानमा ग्लोबल आइएमई छ । यो बैंकले गत आवको तुलनामा आफ्नो नाफामा २३ प्रतिशतले वृद्धि गर्दै १ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको हो ।

चालु आवको पहिलो त्रैमासम नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा भने ३.८२ प्रतिशतको गिरावट आएको देखिन्छ । यो अवधिमा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गर्दै तेस्रो धेरै नाफा कमाउने बैंक बन्न पुगेको छ । यसैगरी प्राइम कमर्सियल बैंकले १ अर्ब २८ करोड, एनएमबी बैंकले १ अर्ब १४ करोड, एभरेष्ट बैंकले १ अर्ब १२ करोड, प्रभु बैंकले १ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । यी बैंकहरुले गत आवको पहिलो त्रैमासको तुलनामा यो आवमा नाफामा क्रमशः ११, १८, ४४ र ०.६२ प्रतिशतको वृद्धि गरेका छन् ।

चालु आवको पहिलो त्रैमासमा नाफामा गिरावट आउने बैंकहरुको सूचीमा भने एनआइसी एशिया बैंक पहिलो स्थानमा छ । यो बैंकको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ८९ प्रतिशतले घटेर ११ करोड रुपैयाँमा सीमित भएको छ । यस्तै यसै अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको नाफा ८२ प्रतिशतले घटेर १५ करोड १३ लाख रुपैयाँमा सीमित हुँदा हिमालयन बैंकको नाफामा ३१ प्रतिशतको गिरावट आएर ७२ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै यसै अवधिमा सानिमा बैंकको नाफा १७ प्रतिशतले घट्दा माछापुच्छ्रे बैंकको नाफामा ७ प्रतिशतको गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्